“त्यसैले उ सर्वहारा हो ”

कविता

तिम्रो स्वार्थको लागि उ
महान् थियो
बलिदान थियो
क्रान्तिकारी थियो

तर,
आज उसको रगतले वनेको सत्ता
उसको जस्तो लाग्दैन
उसकै वलिदानले रोजेको व्यवस्था
उसलाइ लुट्न मात्रै आउछ

तर
पनि उ रगत फिर्ता माग्दैन
धैर्यता तोड्दैन
अपराध गर्न सक्दैन
सत्ताको प्रिय वन्न पनि सक्दैन
निर्दयी वनेर देश लुट्न पनि सक्दैन

निरंकुसता ढाल्न उ
जिउदै जल्न तयार भो
युग फेर्न उ
वन्दुक निल्न तयार भो
जिउदै जल्दा कल्पेको
युग भेटाउदैन उ
वन्दुक निल्दा देखेको
सपना पाउदैन उ

वर्षौं देखि नफेरिएको उसको छानो
गणतन्त्रले देख्दैन
गरिवी छोप्दै जिउ ढाकेको उनको नाना
परिवर्तनले फेर्दैन
साच्चि उसको घरको छाना
कतिवेला चुहिन्छ
कति वेला भत्किन्छ

ओदानमाथिको रित्तो भाडो
कहिले भरिन्छ ?
तिमीलाइ के थाहा ?
तै पनि गुनासो गर्दैन उ
आक्रोस कतै पोख्दैन उ
त्यसैले त उ सर्वहारा छ, सर्वहारा ।