ग्वाटेमालामा: शताब्दीयताकै भीषण ज्वालामुखी विस्फोट

लाभामा पुरिए गाउँ, मृत्यु हुनेकाे संख्या ६२ पुग्याे

ग्वाटेमालामा एक शताब्दीयताकै सबैभन्दा भीषण ज्वालामुखी विस्फाेट भएकाे छ र यसका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भइसकेको छ। ‘फोएगो’ नामकाे उक्त ज्वालामुखी ल्याटिन अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक मानिन्छ ।

सन् १९७४ मा साेही ज्वालामुखीमा ठूलो विस्फोट हुँदा नजिककै कृषिजन्य क्षेत्रमा क्षति पुगेको थियो। तर त्यति बेला कोही हताहत भएको विवरण भने आएको थिएन। आइतबारको ज्वालामुखी सन् १९०२ यताकै ग्वाटेमालामा भएको सबैभन्दा घातक विस्फोटन हो। त्यतिबेला ‘स्यान्टा मरिया’ नामक ज्वालामुखी विस्फोट हुँदा हजारौँ मानिसको ज्यान गएको थियो।

यसपटक विस्फाेट भएकाे ज्वालामुखी पनि घातक मानिएकाे छ, जसबाट झन्डै १७ लाख व्यक्ति ज्वालामुखी विस्फोटबाट प्रभावित भएको बताइएको छ। साथै ३ हजारभन्दा बढी नागरिक घरवारविहीन हुन पुगेकाे र सयाैँ घाइते भएकाे एफपीले जनाएकाे छ ।

चट्टान, ग्यास तथा खरानीको मुस्लो

राजधानी ग्वाटेमाला सिटीबाट झन्डै ४० किलोमिटर दक्षिण-पश्चिममा रहेको स्थानमा आइतबार फोएगो ज्वालामुखी विस्फाेट भएकाे थियाे । ज्वालामुखी विस्फाेट हुँदा जमिनबाट चट्टान, ग्यास तथा खरानीको मुस्लो निस्किएको थियो। खरानीको मुस्लो ६ किलोमिटरभन्दा पनि माथिसम्म उडेको थियो।

तीव्र गतिमा लाभा गाउँहरूतर्फ बगेको थियो, जसका कारण धेरै मानिसहरूको आफ्नै घरभित्रै ज्यान गएको बताइन्छ । ज्वालामुखीकाे लाभामा पुरिएर सयौँ अन्य घाइते भएका छन् र कैयौँ मानिसहरू हराइरहेका छन्, यसबाट मृत्यु हुनेकाे संख्या अझै बढ्न सक्ने देखिन्छ ।

ज्वालामुखीकै कारण देशको मुख्य विमानस्थल पनि बन्द गरिएको छ। यसै वर्षको फ्रेबुअरीमा भएको अर्को ज्वालामुखी विस्फोटमा १.७ किलोमिटर माथिसम्म खरानीको मुस्लो उडेको थियो।

तीव्र वेगकाे लाभा

‘पाएरोक्लास्टिक’ लाभा निस्किएकाे र याे रातो अनि तातो चट्टान तथा ग्यासको मिश्रणले बनेकाे बताइन्छ । पहाडी भेग हुँदै तल वस्तीहरूतिर बगेकाले गाउँहरू त्यसको चपेटामा परेका थिए। सुस्त गतिमा बग्ने लाभाभन्दा पाएरोक्लास्टिकको बग्ने प्रकृति फरक हुन्छ किनकि यो निकै तीव्र वेगमा बग्दछ र सुस्त गतिमा बग्ने लाभाका क्रममा जस्तो मानिसहरू भाग्न सक्दैनन्।

उद्धार कार्य जारी

प्रहरी, रेडक्रस तथा सेनाका सयौँ सदस्यहरू उद्धार कार्यमा परिचालन गरिएका छन्। उनीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा सार्न तथा अस्थायी आश्रयको व्यवस्था गरिरहेका छन्।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडिओहरूमा उद्धारकर्ताहरूले खरानीले ढाकिएका मानिसहरू तथा लाभाको थुप्रोमा रहेका शवहरू निकालिरहेको देख्न सकिन्छ।

ग्वाटेमालाका राष्ट्रिय विपद् व्यवस्थापनका प्रमुखले एल रोडिओ नगर “पुरिएको” जनाएका छन्। उद्धारकर्ताहरू कयौँ गाउँहरूसम्म पुग्न प्रयास गरिरहेका छन् । थप तथ्य अाउने क्रम जारी छ । (स्राेत : बिबिसी तथा एएफपी)