बजेटबारे यस्तो छ विप्लवको प्रतिक्रिया……..

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले केपी नेतृत्वको सरकारले मंगलबार घोषणा गरेको बजेट शब्दजालले भरिएको भाषणकाे शंज्ञा दिएका छन । बजेटले नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित रहेको टिप्पणी गरेका हुन् ।

सरकारका अर्थमन्त्री युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्ब बराबरको आ.व. ०७५/०७६ को पूर्ण बजेट संसदमा प्रस्तुत गरेका थिए भने जेठ १० राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । महासचिव विप्लवले प्रस्तुत बजेट पुरानै दलाल संसदीय व्यवस्थाको संरक्षण गर्ने र दलाल–भ्रष्टाचारीलाई पोस्ने किसिमको रहेको कडा टिप्पणी गरेका छन् । ईरातो खबरमा प्रकाशित विप्लवको प्रतिक्रिया तथा टिप्पणीअनुसार बजेट घोषणापछि दलाल संसदीय सरकारको सट्टा वैज्ञानिक समाजवादी सत्ताले मात्र देश र जनताका समस्या समाधान गर्न सक्ने पुष्टि भएको विचार व्यक्त गरेका छन् ।

‘जनतामा रहेको सरकारप्रतिको ‘समृद्धि’ भ्रमलाई यो बजेटले स्पष्ट पारिदिएको छ कि वैज्ञानिक समाजवादभित्रको राज्य प्रणालीले मात्र जनताका समस्याहरु समाधान गर्नसक्छ’ विप्लवले भनेका छन् ‘नीति तथा कार्यक्रमले सबै रकम सत्तासीन पार्टीका पहुँचवाला कार्यकर्ताहरूले दुरुपयोग गर्ने र लक्षित समुदाय पूर्णरूपले विमुख रहन्छ ।’ मंगलबार प्रस्तुत बजेटमा शैक्षिक प्रमाणपत्र धरौटीमा पाँच प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋृण दिने भनिएको छ ।

बजेटमा जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूका बारेमा कुनै कार्यक्रम नल्याइएको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् । उनले भनेका छन्, “जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूका बारेमा कुनै कार्यक्रम ल्याइएको छैन । २०६५ सालदेखि लगातार बजेट विनियोजन गरिएको सहिद प्रतिष्ठानद्वारा सञ्चालित विद्यालयहरूमा बजेट विनियोजन गरिएको छैन । यसले गर्दा प्रचण्डका मन्त्रीहरूको कुनै कार्यक्रम नपरेको देखिएको छ ।

बजेटले कुनै नयाँ पन दिन नसकेको जनाउँदै नीति–कार्यक्रम र बजेटले देशको राष्ट्रिय उद्योगलाई धराशायी हुने र विदेशी उद्योगहरूलाई बिनारोकतोक प्रवेश गराउने बताएका छन् । साथै विगतका दलाल संसदीय व्यवस्थाकै निरन्तरतामा कार्यक्रम र बजेट आएको बताउँदै विप्लवले भ्रष्टाचार नियन्त्रण र बेथितिविरुद्ध आन्दोलन गर्ने लाग्ने शक्तिलाई नाकाबन्दी लगाउने उद्देश्यले ‘आतंककारी गतिविधि’ पदावली प्रयोगले सरकार सामाजिक फासिवादतर्फ उन्मुख भएको उनको भनाई छ । साथै बजेट सरकारका थुप्रै कुत्सित नियतले भरिएको जनताको समृद्धिप्रति अनुदारवादी रहेको कडा प्रतिक्रिया दिएका छन् ।