सम्झनामा कृष्ण सेन ‘ईच्छुक’

हत्यारालाई कारवाही गर्न पत्रकारहरुको माग

महान सहिद कृष्ण सेन ‘ईच्छुक’को १६औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । कार्यक्रममार्फत क्रान्तिकारी पत्रकार र साँस्कृतिककर्मीहरुले सेनको हत्यारालाई तत्काल कारवाही गर्न सरकारसँग जोडदार माग गरेका छन् । स्मृति दिवसको अवसरमा आइतबार बिहान क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा प्रभातफेरी कार्यक्रम सम्पन्न गर्यो ।

शान्तिबाटिकाबाट शुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै नेपाल पुलिस क्लबअगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले सेनको हत्यारालाई कारवाही गर्न माग गर्दै महान सहिद सेनले जनयुद्धका बेला लिएका सपना र उद्देश्यमाथि जनयुद्धकै नेतृत्वकर्ताबाटबे धोका भएको बताए ।

कोणसभामा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले ईच्छुक नेपाली पत्रकारिताको धरोहर र आदर्श पात्र रहेको बताउँदै सेनको हत्यारा पत्ता लगाई कारवाही गर्न हरेक सरकार असफल हुँदै आएको बताए । भने ‘सेन कुनै पार्टी विशेषका पत्रकार नभई नेपाली पत्रकारहरुको आदर्श पत्रकार हुन् । उनको हत्यारालाई कारवाही गर्न महासंघ माग गर्दछ ।’

सभामा क्रान्तिकारी पत्रकार दीपेन्द्र रावलले जनयुद्धका नेतृत्व तह सरकारमा रहँदा पनि सेनको हत्यारालाई कारवाही गर्नुको साटो पुरस्कार गरेको भन्दै सपनालाई एकीकृत जनक्रान्तिले पूरा गर्ने बताए । सेनले लिएका उद्देश्यलाई पूरा गर्न जिम्मेवारी क्रान्तिकारी पत्रकारहरुको काँधमा आएको भन्दै सपना पूरा गर्न निरन्तर कोशिस गर्नुनै सेनप्रति सम्मान हुने बताए ।

त्यस्तै क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवलाले जनयुद्धका बेला जनताको पक्षमा कलम चलाएकै कारण तत्कालीन सरकारले जनताको आवाजलाई दबाउन सरकारले परिवर्तनका पक्षधर क्रान्तिकारी पत्रकार सेनको हत्या गरेको बताए । दोषीलाई कारवाही सरकारसँग माग गरे ।

अर्का वक्ता जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले सेनसँगको सहकार्य स्मरण गराउँदै जनताको पक्षमा पत्रकारिता गरेका र गीत लेखेकै कारण जनविरोधी सरकारले सेनको हत्या गरेको बताए । सेनको हत्या गरेपनि तत्कालीन सामन्ती सरकार जनताको बलसामू केही नलागेर सत्ता छाडेर भाग्न परेको बताए । अहिले ओली सरकारले पनि जनताको पक्षमा कलम चलाउनेमाथि दमन शुरु गरेको हुनाले ओली सरकार पनि छिट्टै समाप्त भएर जाने बताए ।

पत्रकार सेन अन्याय र उत्पीडनका विरुद्ध उठेको जनयुद्धको उद्देश्य र मर्मलाई जनतासामू सरल रुपमा समाचार, गीत, कविताको माध्यमबाट पुर्याउन र बुझाउन सक्ने निडर र एक कर्मठ योद्धको रुपमा नेपाली क्रान्तिमा सम्झिराख्ने व्यक्तित्व रहेको अग्रज पत्रकार तथा साँस्कृतिक स्रष्टाहरुले बताए ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल लुम्बिनीले बुटवलमा, मकवानपुरले हेटाै‌डामा, ईच्छुक स्मृति पार्क निर्माण समितिले भालुवाङमा विशेष कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सेनको सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

सेनलाई जनयुद्धले उच्च रुप लिइरहेकै बेला २०५९ साल जेठ ६ गते राजधानीबाट गिरफ्तार गरी भृकुटीमण्डपस्थित तत्कालीन महेन्द्र पुलिस क्लबमा राखेर चरम यातना दिई शाही सरकारले हत्या गरिएको थियो ।