ट्रम्पले रद्द गरे किमसँगको वार्ता,फेरि संकटमा सम्बन्ध

खुला रुपमा दुश्मनी गरेको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ता रद्द गरेका छन् । उत्तर कोरियाको तर्फबाट थाम्नै नसकिने क्रोध र खुला रुपमा शत्रुता प्रदर्शन भएकाले वार्ता रद्द गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । लामो तयारी तथा गोप्य तथा खुला रुपमा भएको दुई पक्षीय कूटनीतिक वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबिच आउँदो जुन १२ मा सिंगापुरमा ऐतिहासिक वार्ता हुने तय भएको थियो ।

तर सुरुमा वार्ताको राम्रो वातावरण बनेको देखिए पनि पछिल्ला केही दिनदेखि दुवै देशले एक अर्कालाई आरोप लगाउँदै वार्तामा ढिलाइ हुने वा रद्द गर्ने चेतावनी दिँदै आएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प वार्ता रद्द गर्नमा अघि आए । उनले बिहीबार वार्ता तत्कालका लागि रद्द भएको तर भविष्यमा वार्ताको सम्भावना भने रहेको बताएका छन् । त्यसका लागि उत्तर कोरियाले मुर्खतापूर्ण व्यहार गर्न छोड्नु पर्ने उनको भनाई छ ।

उत्तर कोरियाले रिहा गरेका तीन अमेरिकी नागरिकमा किम हक–सोङ्ग, टोनी किम र किम डोङ्ग–चुल । तस्बिर : रोयटर्स/एएफपी

हुने भनिएको ट्रम्प–किम वार्ताले कोरियाली प्रायद्विपमा परमाणु हतियारका कारण उत्पन्न तनाव कम गर्ने अपेक्षा गरिएको थियो । वार्ता भएको भए कार्यालयमै रहेका बेला उत्तर कोरियाका नेतालाई भेट्ने पहिलो अमेरिकी राष्ट्रपति बन्ने थिए ट्रम्प । ट्रम्पले वार्ता रद्द गर्ने घोषणाको प्रतिक्रियामा उत्तर कोरियाले यसलाई आश नै नगरिएको निर्णय बताएको छ । यस्तै ट्रम्पको यो निर्णय गम्भीर रुपले पछुुतोपूर्ण रहेको पनि उत्तर कोरियाले बताएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्थाले जारी गरेको उप–विदेश मन्त्री किम किइ ग्वानको वक्तव्यमा आफ्नो देशले ट्रम्पसँगको वार्ताका लागि उच्च सम्मानका लागि तयारी गरेको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘हामीले अमेरिकालाई फेरि एकपटक भनेका छौँ कि हामी समस्या समाधानका लागि कुनै पनि समय र कुनै पनि तरिकाले वार्ताका लागि तयार छौँ ।’ तर ट्रम्पले वार्ता रद्द गरेको घोषणा गर्नु पूर्व पनि हुने नहुनेमा शंका उत्पन्न भएको थियो र किम र उनीबिचको सम्बन्धमा फेरि चिसो पसेको देखिएको थियो ।

सन् २०१७ भर ट्रम्प र किम एकअर्काको उछितो काट्नमा तल्लिन देखिए । तर सन् २०१८ लागेपछि सम्बन्ध सुधार तथा न्यानो बन्दै गएको देखियो । वार्ताको तयारी भयो । माइक पोम्पेओ पहिलो सिआइएको निर्देशक हुँदा गोप्य रुपमा र विदेश मन्त्री बनेपछि औपचारिक रुपमा नै उत्तर कोरिया पुगे र वार्ताको तयारी गरे । उत्तर कोरियाले आफ्नो देशमा बन्धक रहेको तीन अमेरिकी नागरिकलाई रिहा गर्‍यो । तर अहिले आएर फेरि वार्ता रद्द भएको छ ।

उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण क्षेत्रको सुरुङ्ग ध्वस्त पारेको खबर आएको केही घण्टा भित्र ट्रम्पले वार्ता रद्द गरेका हुन् । उत्तर कोरियाले वार्ताप्रति विश्वासको वातावरण बनाउन नसकेकाले रद्द गरिएको अमेरिकी उच्च अधिकारले बताएका छन् । वार्ता रद्द भएसँगै कोरियाली प्रायद्विपमा तनाव कम हुने वा शान्तीको अवस्था आउने आशमा बादल लागेको छ । देशसञ्चारबाट