सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच झडप, ९ जनाको मृत्यु

एजेन्सी। जम्मू कश्मीरमा भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा झडप हुँदा नौ जनाको मृत्यु भएको छ । भारतले पाकिस्तानबाट भएको गोलीबारीमा चार नागरिक र सुरक्षा बलका एक जवानको मृत्यु भएको दावी गरेको छ ।

उता पाकिस्तानी सेनाले सियालकोट सेक्टरमा भारतका तर्फबाट फायरिङ हुँदा चार नागरिक मारिएका बताएको छ । भारत र पाकिस्तानबीच सन् २००३ मा संघर्ष विराम सम्झौता भए पनि लगातार उल्लंघन हुँदै आएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी १९ मे मा जम्मू कश्मीरको भ्रमणमा जाने भएका छन् । उनको यो यात्राभन्दा अगाडि अन्तर्राष्ट्रिय सीमामा पाकिस्तान विगत तीन दिनदेखि लगातार रुपमा गोलाबारी गरिरहेको छ ।