‘पानी–पानी’ भन्दै समुद्रमै बिलाइन् सुमित्रा

विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् । जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ । जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ । खानेकुरा सकिएर यात्रु हैरान हुन्छन् । यत्तिकैमा खान नपाएर छटपटिइरहेकी एक युवतीको मृत्यु हुन्छ । जहाजका अन्य यात्रुले लास गन्हाउँछ भनेर ती युवतीको शव समुद्रमै फालिदिन्छन् ।

सोच्नुहोला, यो कुनै अंग्रेजी चलचित्रको कारुणिक दृश्य–कथा हो । यथार्थ त्यस्तो होइन । यो त्यही सत्य घटना हो, जसमा तीन नेपाली युवतीसमेत प्रत्यक्ष साक्षी थिए । केही महिनाअघि हैटीको राजधानी पोर्ट औं प्रिन्सबाट छुटेको पानीजहाज ‘क्यारेबियन सी’ मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुगेको थियो । उक्त पानीजहाजभित्र पानी र खाना नपाएर भक्तपुरकी सुमित्रा कुँवरको मृत्यु भयो ।

उनीसँगै रहेका दुई युवती सकुशल फर्किएपछि घटना बाहिर आएको हो । अमेरिका लगिदिने सपना देखाएर मानव तस्करले भारतको दिल्ली हुँदै विभिन्न देश पुर्‍याइएका तीनमध्ये २ नेपाली युवती महिनौंसम्म चरम संकट, अभाव, निराशा र सास्ती खेपेर सकुशल फर्किएका हुन् । ९ महिनाभन्दा धेरै समय विभिन्न देशमा सास्ती खेप्दै बल्लतल्ल फर्केका ती युवतीले ६० लाख रुपैयाँभन्दा बढी गुमाएका छन् । कान्तिपुरले ती युवतीसँग फरक–फरक समयमा गरेको कुराकानीमा उनीहरूले आफ्नो परिचय सार्वजनिक गर्न हिच्किचाए ।

ऋण काढेर अमेरिका हिँडेका ती दुवैले आफू ठगिएको कथा सार्वजनिक भए पारिवारिक र सामाजिक सम्बन्धमा समस्या आउने भन्दै नाम नछापिदिन आग्रह गरे । आफूलाई अमेरिका लैजान फकाउने र लाखौं रकम बुझ्ने मानव तस्करबारे पनि उनीहरू खुल्न चाहँदैनन् । प्रहरीको सहयोग लिने पनि तत्काल योजना छैन । ‘फसेको पैसा सकेसम्म आफैं उठाउने प्रयासमा छौं,’ एक युवतीले भनिन्, ‘यो घटना घरपरिवारले थाहा नपाऊन् भनेर प्रहरी नगुहारेका हौं ।’

सुमित्राका श्रीमान् कैलाश कटुवालले कान्तिपुरसँगको कुराकानीका उनको मृत्युको १५ दिनपछि मात्र घटनाबारे परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट थाहा पाएको बताए । ‘कन्सुलरले मृत्युको जानकारी गराएपछि कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार गरें,’ उनले भने । अमेरिका लैजाने भनी भारत हुँदै वैध र अवैध तरिकाले विभिन्न देश पुर्‍याइएका तीन युवतीको कथाले नेपालीमा रहेको अमेरिकामोह मात्र होइन, मनग्गे कमाइ हुने आसमा अवैध बाटोबाट अमेरिका पस्न मानव तस्करको हात समात्ने नेपालीको प्रवृत्तिलाई पनि दर्शाउँछ ।

अवैध रुटबाट अमेरिका !

भारतको दिल्लीस्थित एक होटलमा बसिरहेकी सुमित्राको सम्पर्कमा सुदूरपश्चिमका दुई युवती पुगे । सुमित्राले आफूलाई अमेरिका पुग्ने बाटो थाहा भएको बताएपछि उनीहरू पनि जान तयार हुन्छन् । सुमित्राले हैटीमा रहेको हैटी फिल्म कम्पनी र नेपालको केपी फिल्मस्ले संयुक्त रूपमा ‘संस्कार’ नामक फिल्म बनाउन लागेको बताउँछिन् । उक्त फिल्म सुटिङका लागि हैटी पुग्ने र फिल्मका निर्देशककै योजनाअनुसार त्यहाँबाट अमेरिका छिर्ने योजना सुनाउँछिन् ।

२३ जनवरी २०१७ मा हैटी फिल्मस्ले सुमित्रालगायत तीनै जनाका निम्ति आमन्त्रणपत्र पठाएको देखिन्छ । कान्तिपुरलाई प्राप्त उक्त पत्रमा निर्देशक र प्रोडक्सन म्यानेजरको हैसियतमा चाल्र्स इलेस्टोले हस्ताक्षर गरेका छन् । पत्रमा ५ नेपाली कलाकारलाई छायांकनका निम्ति हैटी बोलाइएको उल्लेख छ ।

पत्रअनुसार सुमित्रा प्रोडक्सन असिस्टेन्ट म्यानेजर र कलाकारको हैसियतमा हैटी जान खोजेको देखिन्छ । यस्तै आशयको आमन्त्रणपत्र पाएपछि तीनै जना दिल्लीबाट मस्को, कोलम्बियाको राजधानी बोगटा हुँदै डोमिनिका पुग्छन् । त्यहाँ झन्डै १८ दिन बसेर यो टोली हैटीको पोर्ट औं प्रिन्स पुग्छ ।

चाल्र्स इलेस्टाले पोर्ट औं प्रिन्सको पोर्ट औं प्रे भन्ने स्थानमा एउटा फ्ल्याटमा तीनै जनालाई अमेरिका लगिदिने भन्दै महिनौंसम्म राख्छन् । फर्किएका दुई युवतीका अनुसार चाल्र्सले खोजिदिएको फ्ल्याटमा अमेरिका जाने आसमा अन्य ५ नेपालीसमेत थिए । जसमा एक जना आफूलाई मोडल बताउने प्रधान थरका युवा पनि थिए ।

युवतीले भनिन्, ‘हामी पुगेपछि त्यहाँ नेपाली ८ जना भयौं ।’ कान्तिपुरले गरेको खोजअनुसार रोल्पा घर भएका अनुराग मगर, बागलुङका जनार्दन कँडेल, दिनेश कटुवाल र काठमाडौंका सन्दीप थापा मानव तस्करको फन्दामा परेर पोर्ट औं प्रिन्स पुगेका थिए । तीमध्ये केही खर्च अभावमा गुजारा चलाउन पोर्ट औं प्रिन्समै लुकिछिपी काम गरिरहेका छन् भने केही घरबाट पैसा मगाएर फर्किसकेका छन् । याे खबर हामीले कान्तिपुरबाट लिएका हाैँ ।