प्रचण्ड आत्मसमर्पणको खाडलमा जाकिन्छन् भन्ने पहिल्यै थाहा थियो – विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमाले र नेकपा (माके)को विलयलाई प्रचण्डको गद्दारी र आत्मसमर्पणको खाडलमा परेपछिको स्वभाविक परिणाम भएको बताएका छन् । दुई पार्टीबीचको ‘एकता’लाई जनताको विद्रोहले लिँदै गइरहेको उचाईको भार थेग्न नसकेर पार्टी नेतृत्वहरु साम्राज्यवादी दलाल संसदीय पूँजीजीवादसँगको आत्मसर्मणको खाडलमा ‘जाकिनु’को परिणामको रुपमा महासचिव विप्लवले व्याख्या गरेका छन् ।

शुक्रबार एक प्रेस विज्ञिप्त जारी गर्दै महासचिव विप्लवले एमालेलाई झापा विद्रोहको वजन र उचाइ थेग्न नसकेर र प्रचण्ड जनयुद्धको ओज र शहिदको रगतको भार धान्न नसकेर भागेर साम्राज्यवादी दलाल धनढ्यहरुको टाङमुनि छिरेर नयाँ पार्टी गठन गरेको बताउँदै नयाँ पार्टी नेतृत्वको सरकारले देश र जनतालाई हानी मात्र पुर्याइराख्ने बताएका छन् । अवसरवादी र दलाल सत्ताधारीको निरन्तरता रहँदासम्म राष्ट्रघात र जनघातका श्रृंखला अझ बढ्ने दृढविश्वास व्यक्त गरेका छन् ।

जेठ ३ गते बिहीबार (हिजो) मात्र केपी ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र (माके)बीच एकीकरण गरेर नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी गठनको घोषणा गरिएको थियो । एमाले वर्तमान संसदीय व्यवस्थाका पहिलो र माके तेस्रो दल छन् । नेपाली कांग्रेस दोस्रो दल रहेको छ । अहिलेको सत्ता समिकरणमा माके र एमाले सामेल छन् ।

पहिलो र तेस्रो दल विलय भएर एउटै दल बनाइएपछि देशकै ‘ठूलो कम्युनिस्ट पार्टी’ बनेको र अब देशमा विकासको लहर छाउने र क्रान्तिकारी शक्तिलाई मेटाइदिने भनाईहरु नयाँ पार्टी (सत्ताधारी)का जिम्मेवार नेताहरुबाट अभिव्यक्ति सार्वजनिक हुन थालेको सन्दर्भमा नयाँ पार्टी र तिनको चरित्र र उद्देश्यबारे महासविच विप्लवले शुक्रबार विज्ञप्तिमार्फत नेपाल कम्युनिस्ट पार्टी (नकेपा)को आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

उनले प्रचण्ड जनता र राष्ट्रको एजेण्डा छाडेर पहिल्यै भागिसकेको र आत्मसर्पमणकारी पाएकै कारण आफूहरुले विद्रोह गरेर उनकै सामू जनताको क्रान्तिकारी पार्टीको पुनर्गठन गरेको समेत प्रष्ट पारेका छन् । प्रचण्डलाई क्रान्तिबाट भागेका कायर र उनी नेतृत्वको माकेलाई भगौडा पार्टीको संज्ञा दिएका छन् भने एमालेलाई साम्राज्यवादीहरु, संशोधनवादी पुँजीवादीहरुको शरणमा लम्पसार हुन पुगेको भगौडाहरुको झुण्ड हो भनेका छन् ।

‘माके भर्खरको महान् जनयुद्धको ओज, गरिमालाई मूल्यबोध गर्न नसकेर, शहीदका रगतको टाटा नबस्दै रनाहमा परेर साम्राज्यवादी दलाल संसदवादी पुँजीवादको टाङमुनि टाउको घुसार्न पुगेको कायर भगौडा पार्टी हो’ विज्ञप्तिमा भनिएको छ ‘प्रचण्डहरु यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भन्दै आएको कुरा हो । हामीले उनीहरुको गडबढीलाई विचलन देखेर नै उनीहरुबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौं ।’

नयाँ पार्टी घोषणापछि ओली र प्रचण्डलगायत नेताहरुले दिएका ‘नयाँ युग शुरु’ अभिव्यक्तिलाई ‘जनयुद्ध र जनआन्दोलनको भीषण प्रतिज्ञा र प्रतिबद्धताबाट चिप्लिएर संसदीय व्यवस्थाको फोहरी नालीमा मिसिएको अपराधको क्रन्दन’ भनेका छन् । साथै पार्टी एकीकरणलाई कम्युनिस्ट आदर्शबाट च्युत र क्रान्तिबाट भागेर दलाल संसदीय पुँजीवादको पालहरुको घोर मिलापबाहेक अन्य केही नभएको कडा टिप्पणी जारी विज्ञप्तिमा गरिएको छ ।

त्यस्तै नवगठित पार्टी नामको सन्दर्भमा महासचिव विप्लवले गरिबी, उत्पीडन, लुछाचुँडी, अभाव, भ्रष्टाचार, महंगी, राष्ट्रघात, जनघात र अराजकताबाट हैरान भई उनीहरु आफ्नै विचार, राजनीति, आदर्शको भारी बोक्न नसकेर भागेका र विचार मरेको नाम कटुवा कम्युनिस्टहरुको गठजोड भनेको छ ।

बलिदानलेघोर अवसरवादी र आत्मसमर्पणवादी पार्टीबीचको एकताले हरेक पार्टीभित्र रहेका क्रान्तिकारीलाई क्रान्तिको झण्डामुनि गोलबन्द हुने अवसर मिलेको र एमाले–मोकको गद्दारी र विसर्जनले जनक्रान्ति जन्माउने शक्ति पैदा गरेको भन्दै क्रान्ति र बलिदानबाट भागेर गएकाहरुको सत्ताकै कारण आगामी दिन भीषण उथलपुथलका समय हुने छनक आइसकेको कुरा महासचिव विप्लवले गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपालाई ‘क्रान्तिकारी उग्रवादी’ भनी गरेको टिप्पणीको विज्ञप्तिमार्फत ‘क्रान्ति, बलिदानबाट भागेर प्रतिक्रियावादी सत्तामा गएर क्रान्तिको दमन गर्ने कुरा क्रान्ति गर्नेभन्दा पनि जटिल कुरा भएको’ भन्दै कडा प्रतिवाद गरिएको छ ।

‘उनीहरुले सोच्लान्, बलियो सरकार भएपछि क्रान्तिकारी ‘उग्रवादी’हरुलाई दमन गर्न सजिलो हुन्छ । यो उनीहरुको भ्रम र कल्पना मात्र हो’ विज्ञप्तिमा ‘एकलौटी शासन सत्ता हुँदा त पुँजीवादीले नियन्त्रण गर्न सम्भव भएन । अणु बम भएका शक्तिले त क्रान्तिकारीलाई रोक्न सकेनन् । साम्राज्यवादी सेनाले त क्रान्तिकारी शक्तिलाई परास्त गर्न सकेन भनें यी संसदवादी, संशोधनवादी, आत्मासमर्पणवादीहरुले सरकार परिवर्तन भयो भन्दैमा क्रान्ति रोकिने र नयाँ युगको शुरु हुन्छ भन्ने कल्पना नगरे हुन्छ’ भनिएको छ ।

‘केपी–पिकेले पहिले नै नेकपामाथि फासिवादी दमन गरेर युद्धको ऐलान गरिसकेको’ निस्कर्ष निकाल्दै आगामी दिनमा यो दमन अझ तीब्र भएर जाने र यसको जवाफ क्रान्तिबाट मात्र दिन सकिने र दिन पनि अनिवार्य बन्न जाने कुरा महासचिव विप्लवले विज्ञप्तिमार्फत राखेका छन् । यसनिम्ति छरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु र इमान्दर र सचेत नेपाली वर्तमान दलाल संसदीय फासिष्ट व्यवस्थाविरुद्ध संघर्ष गर्न ढिला नगरी एकजुट हुनुको विकल्प स्वाभिमानी जनताको साथमा नरहेको औल्याइएको छ । देश र जनताको वास्तविक शान्ति, समृद्धि वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने र त्यसका लागि सच्चा क्रान्तिकारीहरुबीच एकता हुन अनिवार्य भएको भनाई महासचिव विप्लवको छ ।

त्यस्तै सामाजिक दलाल पुँजीवादीहरुको नियन्त्रणमा सत्ता भएकैले भारतीय प्रधानमन्त्री नेपाल आउँदा ओली सरकारले भयानक राष्ट्रघात गरेको स्मरण गराउँदै त्यसलाई खारेज गरेर नयाँ असमान सन्धि सम्झौता तोड्न र देशलाई स्वाधीन बनाउन सबैतिर रहेका क्रान्तिकारीहरु माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत क्रान्तिको मार्गमा गोलबन्द हुन समेत विज्ञिप्तमार्फत आह्वान गरेका छन् ।

दुई पार्टीबीचको विलय (एकता)सँगै त्यसभित्रका क्रान्तिकारी पंक्तिले भने चरम असन्तुष्ट पोख्न शुरु गरिसकेका छन् । ओली र प्रचण्डको फोटोमा कालो पोत्नेसम्मनको तहमा पुगेर असन्तुष्टी व्यक्त हुन थालेको छ ।

स्मरण रहोस्, महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट (पार्टी (नेकपा) प्रचण्ड कम्युनिस्ट विचार र महान जनयुद्धको उद्देश्यबाट विचलित भई गद्दारीमा परिणत भएको भन्दै उनीसँग सम्बन्ध विच्छेद गरेर अधूरो नेपाली क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि संघर्षरत पन्ध्र महिना पहिले रोल्पाको थवाङमा सम्पन्न आठौं महाधिवेशनबाट पारित एकीकृत जनक्रान्तिकारीको कार्यदिशाका साथ गठित क्रान्तिकारी पार्टी हो ।