क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको मृत्यु

एजेन्सी : क्युबामा विमान दुर्घटना भएकाे छ । ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानाकाे जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको साे दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ।

त्यहाँकाे सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनकाे ‘बोइङ ७३७’ नामक विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेका बेला दुर्घटना भएकाे हाे। मृत्यु हुनेमा ६ जना चालक दलका सदस्य रहेका छन् । साे दुर्घटनामा तीन जना मात्रै बाँच्न सफल भएका छन् र ती पनि गम्भीर घाइते रहेकाे जनाइएकाे छ ।

विमानमा यात्रुहरू मात्रै १०४ जना र क्याबिन क्रुलगायत कुल ११३ जना सवार रहेकाे बताइएकाे छ । प्रत्यक्षदर्शीहरूका अनुसार उड्नेबित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो। त्यसपछि विमानमा आगो लागेर विस्फाेट भएकाे हाे ।

गएराति (स्थानीय समय अनुसार दिउँसाे १२ बजेतिर) साे विमान दुर्घटना भएकाे हाे । विमान करिब ४० वर्ष पूरानाे रहेकाे जनाइएकाे छ । दुर्घटनापछि त्यहाँका राष्ट्रपति मिगेल डियाज़ कनेलले साे स्थलकाे अवलाेकन गरेका छन् । राहत तथा उद्धार टाेली समेत तत्कालै दुर्घटनास्थल पुगेकाे बताइन्छ ।

क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर साे विमान सञ्चालन गर्दै आएको थियाे । के कारणले दुर्घटना भएको हाे भन्ने खुलिसकेकाे छैन, साेबारे अनुसन्धान थालिएको त्यहाँका अधिकारीहरूले बताएका छन्।

तस्वीर : एएफपी