ओली सरकारको सय दिन : चौथोपटक इन्धनको मूल्यमा भारी वृद्धि

सरकारले आफ्नो सय दिन पुरा गर्नै लाग्दा पेट्रोल, डिजेल र मट्टितेलमा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाएको हो । केपी ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेकै दिन इन्धनको मूल्य बढेको हो । यो अवधिमा ४ पटक मूल्यवृद्धि भइसकेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै डिजेल र पेट्रोलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमको भनाइ छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल÷मटीतेल ९२ रुपैयाँ पुगेको छ । निगमका अनुसार पेट्रोलमा ७२ पैसा नाफा र डिजेलमा भने २ रुपैयाँ २९ पैसा घाटा रहेको छ । लगातार इन्धनको मूल्य बढेर आएपछि निगमको नाफा शून्यमा झरेको छ ।

इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले बुधबार पठाएको नयाँ मूल्यअनुसार इन्धनको मूल्य बढेर आएकाले निगमले मूल्य समायोजन गरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले पछिल्लो चार महिनायता लगातार इन्धनको मूल्य बढाउँदै आएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मुल्य समायोजन गर्छ ।