एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुँदै

यस्तो छ भागबण्डा

नेकपा ‘एमाले’ र नेकपा ‘माओवादी’ केन्द्रबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । लामो समयदेखि एकता प्रक्रियामा रहेको एमाले र माओवादी केन्द्रबिच बिहीबार पार्टी एकीकरण हुने भएको हो । पार्टी एकता गर्ने समझदारी भएको ९ महिना पुग्नैलाग्दा अन्ततः नेकपा एमाले र माओवादी केन्द्र घोषणाको अन्तिम बिन्दूमा आइपुगेका छन् । दुई पार्टीबीच पदीय भागबण्डा, चुनाव चिन्ह लगाएतका विवादित विषयमा समेत सहमति जुटेसँगै बिहिबार एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार बिहान भएको वान टु वान वार्ताबाट एकता गर्ने सहमति भएको थियो । सहमतिअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाइने भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० जनाको प्रतिनिधित्व हुनेछ ।

एमाले स्रोतका अनुसार स्थायी कमिटी ४३ सदस्सीय बनाउने समझदारी भएकोमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् ।
दुई पार्टीले भोलि नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी थालेका छन् । दुई पार्टीबीच सूर्य चिन्ह नै चुनाव चिन्ह राख्ने सहमति भएको छ । सूर्य एमालेको हालको चुनाव चिन्ह हो ।

यसैबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी भएको स्थायी समिति बैठकलाई जानकारी गराएका छन् । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकमा ओलीले भोलि पार्टी एकता गर्ने सहमति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको जानकारी गराएका हुन् ।  ओलीले भोलि बिहान १० बजे बस्ने एकता संयोजन समितिको बैठकले थप निर्णय गर्ने पनि जानकारी गराएका थिए । ओलीले जानकारी गराएसँगै बैठकले सहमतिको स्वागत गरेको छ ।

बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टीबीच भोलि बेलुकासम्म एकता हुने बताए ।  पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रिय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । एमालेले भोलि ११ बजेको लागि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । आजै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक पनि बसेको थियो ।