एमाले र माओवादीबीच संसदमै चर्काचर्की, यसरी चल्यो आरोप-प्रत्यारोप

तोडियो आलोचना नगर्ने वाम एकताको सहमति

एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति तोड्दै संसदमा एमाले र माओवादीका सांसदहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा गतिरोध उत्पन्न भइरहेका बेला एकअर्काबीच आरोप–प्रत्यारोप र घोचपेच चल्न थालेको हाे ।

प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा भारतीय सेनाको कमान्डोलाई नेपालमा प्रवेश दिइएको तथा अरुण तेस्रोको शिलान्यासप्रति आपत्ति जनाएको छ । एमालेले भने शान्ति सुरक्षाको विषयलाई लिएर टिप्पणी गरेको छ । गत असोज १७ गते वाम एकताका लागि भएको ६ बुँदे सहमतिको तीन नम्बर बुँदामा एकअर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति थियो।

तर सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुषालले आफ्नै दल सहभागी सरकारको कडा आलोचना गरिन्। प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी प्रश्नसमेत उठाइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा एमाले नेतृत्वको परराष्ट्र मन्त्रालयको कमीकमजोरी भएको टिप्पणीसमेत गरिन्।

मोदी भ्रमणका क्रममा भारतीय सेनाहरुले मोदीको सुरक्षा गरेकोप्रति प्रश्न गर्दै नेपाली सेनाको मनोबल गिराउने काम भएको आरोप लगाइन्। उनले प्रश्न गरिन्- ‘विदेशी राष्ट्रप्रमुखको सुरक्षा दिन नसके किन बोलाउने?’ यता एमाले सांसद भने माओवादी नेता एवं गृहमन्त्री राम बहादुर थापाप्रति आक्रामक रुपमा प्रस्तुत भए।

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको घटनालाई लिए गृहमन्त्री थापाको आलोचना गरे। वैशाख ८ गते मेयरमाथि आक्रमण भएको थियो। घटना भएको २३ दिन हुँदासमेत गृहमन्त्रीले कारवाही गर्न नसकेको भन्दै उनले आलोचना गरे।

स्थानीयले घटनाको भिडियोसहित किटानी जाहेरी दिँदा समेत कारबाही नगरिएकोमा असन्तुष्टि पोख्दै उनले भने, ‘सम्मानीय सभामुखमार्फत् माननीय गृहमन्त्रीसँग प्रश्न गर्छु अपराधीलाई कारवाही गर्ने कि नगर्ने ? गृहमन्त्रीबाट जवाफ माग्छु।’