सन्दीपको ‘डेब्यू म्याच’मा दिल्ली पराजित

इन्डियन प्रिमियर लिग आइपिएलमा शनिबार नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलोपटक खेल्ने मौका पाए। दिल्ली डेयरडेभिल्समा आवद्ध सन्दीप ११ खेलमा मैदान बाहिरै रहे। सन्दीप मैदानमा आउने बेलासम्म दिल्ली भने आइपिएलको प्लेअफ नपुग्दै बाहिरिइसकेको थियो। सन्दीपले भारतीय कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंलोरविरुद्धको पहिलो खेलमा सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए।

ओपनिङ बलरका रुपमा आएका सन्दीपले दिल्लीका अन्य बलरका तुलनामा राम्रो प्रदर्शन गरेका थिए। चार ओभर बलिङ गरेका सन्दीपले २५ रन दिएर एक विकेट लिए। सन्दीपले आफ्नो बलिङको दोस्रो ओभरमा पृथव पटेललाई छ रनमा एलबीडब्ल्यू आउट गरेका थिए। सन्दीपको बलमा रोयल च्यालेन्जर्स बैंलोरका खेलाडीले २ चौका र एक छक्का प्रहार गरेका थिए।

पहिले ब्याटिङ गरेको दिल्लीले रिषभ पन्तको ६१, अभिषेक शर्माको ४६ र कप्तान श्रेयष ऐय्यरको ३२ रनको मद्दतमा १८१ रन बनायो। बैंलोरका लागि युभेन्द्र चहलले दुई विकेट लिए। दिल्लीले दिएको १८१ रनको लक्ष्य बैंलोरले सहजै भेट्टायो। बैंलोरका कप्तान विराट कोहलीले ७० र एबिडी भिलियर्सले नटआउट ७२ रन बनाए। बैंलोरले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो। दिल्लीका लागि ट्रेन्ट बोल्टले २ तथा अमित मिश्रा, सन्दीप लामिछाने र हर्षल पटेलले एक एक विकेट लिएका थिए।