प्रधानमन्त्री ओली र मोदीबीच वान टु वान भेटवार्ता

यस्ता छन ५ सहमति

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नेपालको राजकीय भ्रमणमा रहेका मोदी र ओलीबीच शुक्रबार साँझ वान टु वान भेटवार्ता भएको हो । 

 द्वारिकाज होटलमा वान टु वान वार्तापछि द्वीपक्षीय वार्ता पनि भएको छ । लगतै दुई प्रधानमन्त्रीले अरुण तेस्रोको शिलान्यास गर्नुका साथै सम्बोधन गरेका छन् । नेपाल र भारतबीच कुनै सम्झौता भने भएन । तर, सम्बोधनका क्रममा दुई प्रधानमन्त्रीले आफूहरुका बीचमा भएका छलफल र सहमतिबारे जानकारी दिएका छन् ।

यस्ता छन ५ सहमति

नेपाल ल्याण्डलक नरहोस्

भारतीय प्रधानमन्त्री मोदीका अनुसार नेपाल ल्याण्डलक कन्ट्री नहोस्, ल्याण्डलिंक र वाटर लिंक होस् भन्ने प्रधानमन्त्री ओलीको यो भिजनलाई साकार गर्न भारतले हरसम्भव सहयोग गर्न प्रतिवद्ध छ ।

रक्सौल काठमाडौं रेल्वेको सर्वे छिट्टै

मोदीका अनुसार भेटमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएको सहमति र त्यसको कार्यान्वयनबारे छलफल भएको छ । केही काम भइसकेका छन् भने केही छिट्टै हुनेछन् । उनका अनुसार रक्सौल काठमाडौं रेल्वेको सर्वे छिट्टै हुनेछ । अघिल्लो महिना भएको ओलीको भारत भ्रमणका क्रममा रेल्वे निर्माणमा सहमति भएको थियो ।

स्वास्थ्यमा सहयोग

भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने सहमति भएको छ । मोदीका अनुसार भारतले भक्तपुर क्यान्सर अस्पतालमा भावा ट्रोमा रेडियो थेरापी मेसिन छिट्टै जडान गरिदिने छ ।

पञ्चेश्वरको डीपीआर छिट्टै

दुई देशका प्रधानमन्त्रीका अनुसार भेटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने सहमति पनि भएको छ । यसका लागि दुई देशको टिम छलफलमा बस्ने प्रधानमन्त्री ओलीले बताए ।

ओलीसँग मिलेर आफूले ९०० मेगावाट क्षमताको अरुण तेस्रोको शिलान्यास गरेको भन्दै मोदीले ऊर्जा क्षेत्रमा नयाँ अध्याय जोडिएको बताए । ऊर्जाका अरु सहयोग परियोजनामा पनि कुराकानी भइरहेको उनले बताए ।

कृषि सहयोग रोडम्याप

दुई प्रधानमन्त्रीका अनुसार नेपाल र भारतका कृषि मन्त्रीहरूको बैठक छिट्टै बस्नेछ । यो बैठकले कृषि सहयोग अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउनेछ । साथै ब्यापार सम्वन्धलाई अझ बलियो बनाउन ‘ट्रिटी अफ ट्रेड’लाई पुनरावलोकन गर्न पनि दुई देश सहमत भएका छन् ।