मोदी आउँदा काठमाडौंमा २५ मिनेटसम्म सडक खाली गराइने

यस्तो छ मोदीको रुट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा काठमाडौंको सडक २५ मिनेटसम्म खाली गराउने ट्राफिक प्रहरीको तयारी छ। मोदीको सुरक्षालाई ध्यानमा राखी उनको सवारी चल्ने रुटका सडक खाली गर्न लागिएको हो। जसका कारण सर्वसाधारणले शुक्रबार र शनिबार सास्ती भोग्नेछन्।

यस्तो छ मोदीको रुट

मोदी शुक्रबार दिउँसो १:३० मा जनकपुरबाट काठमाडौंमा उत्रनेछन्। विमानस्थलबाट उनी गौशाला, चावहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन्। मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराउने तयारी छ। मोदीको कार्गेड चावहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन चल्न दिइने ट्राफिक महाशाखाका एक अधिकारीले बताए। जसका अवधि करिब १५ मिनेट हुनेछ।

शुक्रबार नै दिउँसो ४ बजे मोदी हायात होटलबाट ‘गार्ड अफ अनर’ ग्रहण गर्न टुँडिखेल प्रस्थान गर्नेछन्। चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर हुँदै उनी टुँडिखेल जानेछन्। ४ बजेको समयमा सो रुट पनि खाली गराउन लागिएको छ। मोदी गौशाला कटेपछि मात्र बौद्धबाट सडक खुला गरिनेछ। टुँडिखेलमा मोदी करिब ५ मिनेट मात्र बस्नेछन्।

४:३० मा मोदी उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट्न बहादुर भवनमा जानेछन् भने त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास जाने कार्यक्रम छ। यो अवधिमा पनि सो सडकखण्ड करिब १५ मिनेट अवरुद्ध हुनेछ। शीतल निवासबाट मोदी साँझ ६ बजे महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्नेछन्। बेलुका हायातमै फर्कने कार्यक्रम छ।

शनिबार बिहानै ६ बजे मोदी होटलबाट मुस्ताङको मुक्तिनाथ मन्दिर जानका लागि विमानस्थल पुग्नेछन्। १०:३० मा काठमाडौं फर्किएपछि उनी पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने कार्यक्रम छ। पशुपतिनाथबाट हायात होटल जाँदा पनि सडक खाली हुनेछ।

त्यस्तै, दिउँसो २ बजे नागरिक अभिनन्दनका लागि सभागृह प्रस्थान गर्नेछन्। चावहिल, महाराजगञ्ज, लाजिम्पाटको रुट भएर उनी सभागृह जाने कार्यक्रम छ। दिउँसो ३:३० मा सभागृहबाट बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्तीका लागि विमानस्थल जाने कार्यक्रम छ।

मोदीको सवारीका बेला कम्तीमा १० मिनेट तथा बढीमा २५ मिनेटसम्म सडक खाली गरिने ट्राफिक महाशाखाका एक अधिकारीले बताए। राजकीय भ्रमण भएकाले सडक खाली गर्नुपर्ने र सर्वसाधारणलाई सकेसम्म कम अवधि रोक्नेगरी योजना बनाइएको ट्राफिक महाशाखाले बताएकाे छ ।