मन्त्रिपरिषद् बैठकले मोदीको नेपाल भ्रमणलाई दियो स्वीकृति

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीले वैशाख २८ र २९ गते गर्न लागेको नेपाल भ्रमणलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले कारागारसम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।

त्यस्तै बैठकले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका राज्यमन्त्री बाँस्कोटाले बताए। उक्त निर्देशिकाअनुसार विदेशी रोजगारदाता कम्पनीहरूले नेपाली श्रमिकको माग गर्दा सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनुपर्नेछ।