एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी

विजयी भएपछि भने -जित र हारको खेल सकियो

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । शनिबार ललितपुरमा भएको निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतान्तरले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाए ।

अध्यक्षका प्रत्यासी कुँवरले मनोनयन दर्ता गराएपनि अन्तिम समयमा आएर निर्वाचन बहिस्कार गरेका थिए ।एन्फाकै पूर्वउपाध्यक्षसमेत रहेका परिवर्तन पक्षधर शेर्पा समूहले उपाध्यक्षसहित बहुमत सदस्यमा पनि जित हासिल गरेको छ ।

चार उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा रहेकामा पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का उपाध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । चारैजना शेर्पा नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए ।

जित र हारको खेल सकियो

जितपछि बोल्दै नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले चुनावसँगै जित–हारको खेल सकिएको भन्दै पराजित भएकाहरुलाई पनि साथमा लिएर नेपाली फुटबलको विकासमा लाग्ने बताए । उनले लामो समयदेखि हुन नसकेको लिग सुरु गर्नेदेखि लिएर चुनावअघि गरेका सम्पूर्ण प्रतिबद्धताहरु पूरा गर्ने बताए ।

यसअघि, शनिबारै एन्फाको साधारणसभाको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विधि र विधानसम्मत् हुन लागेको निर्वाचनपछि आउने नयाँ कार्यसमितिले एन्फालाई चलायमान बनाउने भन्दै फुटबलको विकासका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।