गोरे समुहमाथि ३८ क्विन्टल सुन तस्करीको आरोप !

प्रहरीले चुडामणि उप्रेति ‘गोरे’ समुहले झण्डै ३८ क्विन्टल सुन तस्कर गरेको आरोप लगाएको छ । जिल्ला अदालत मोरङमा आज दायर गरिएको अभियोग पत्रमा गोरे समुहले ३८ क्वीन्टल सुन तस्करी गरेको उल्लेख गरिएको छ । सहसचिव ईश्वर पौडेल नेतृत्वको सरकारी छानविन समितिले उक्त निष्कर्षसहितको आरोपत्र जिल्ला अदालतमा दायर गरेका हो ।

३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न समिति बनेको समितिले अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ। प्रतिवादीमध्ये ९ जना प्रहरी अधिकारी छन्।

उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ । गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ । प्रतिवादीसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालका प्रमुख पुण्यप्रसाद पाठकले जानकारी दिए । तस्करी भएको सुनको मूल्यांकन राष्ट्र बैंकका कर्मचारीले गरेका थिए।