क्याम्पस हाताबाट अपहरण शैलीमा अखिल क्रान्तिकारीका महासचिव शाही गिरफ्तार

प्रहरीको यस्तो ज्यादती

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीलाई प्रहरीले अपहरण शैलीमा ल क्याम्पसकाे हाताबाट  गिरफ्तार गरेको छ । बुधबार विहान काठमाडौंको भृकुटीमण्डस्थित अारअार क्याम्पसबाट शाहीसहित केन्द्रीय सदस्य ललित बिक, क्याम्पस जिल्ला सदस्य रविन केसीलाई गिरफ्तार गरेको हो ।

प्रहरीले गालिगैलजा गर्दै अपराधिक शैलीमा क्रान्तिकारीका महासचिव शाहीलार्इ गिरफतार गरी भक्तपुर लगेकाे बताइएकाे छ । प्रहरीले नेकपाका नेता कार्याकर्तामाथी धरपकड र गिरफ्तारी व्यापक बनाएको छ । 

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको क्याम्पको इकाइ सम्मेलन सहभागी भएकाे अवस्थामा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हर्कबहादुर बिकले जानकारी दिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका ललितपुर सेक्रेटरी विपिन शर्मासहित दुर्इजना र मकवानपुरका सेक्रेटरी रामबहादुर घलानलार्इ पनि प्रहरीले गिरफ्तार गरेको छ । 

पछिल्लोसमय प्रचण्ड गठबन्धनको ओली सरकारले नेकपामाथि चरम दमन गर्ने रणनीति लिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादल निरंकुश शैलीमा धरपकडमा उत्रिएका छन् ।

बादल गृहमन्त्री बनेकै दिन नेकपाको युवादस्ताले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमाथि नै हस्तक्षेप गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

त्यस यता मात्रै नेकपाका दर्जनौं नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका शुभचिन्तक र समर्थक जनतालाई समेत नछाड्नु भन्दै सरकारको नेतृत्वकर्ता ओली प्रचण्डले भित्र भित्रै कडा निर्देशन दिएको समेत केहि समय अगाडी खुलासा भएको थियो ।