एमाले–माओवादी कार्यक्रममा लफडा, तनावमा राष्ट्रिय सभागृह

ब्यानरको विषयमै नाराबाजी

एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौको राष्ट्रिय सभागृहमा तनाव भएको छ । माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको व्यानरमा असहमति जनाउदै हो हल्ला हल्ला गरेपछि तनाव भएको हो ।

कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनका भक्तपुरका अध्यक्ष जीवीत थपलियाले ब्यानरमा असहमति जनाउँदै मञ्चमा गएर हुटिङ गरेपछि त्यसमा माओवादी कार्यकर्ताले साथ दिएका थिए ।

पार्टी एकताको मितिका रुपमा हेरिएको वैशाख ९ को यो कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको संदेश दिने कार्यक्रम रहेकाे थियाे।

ठूलो संख्यामा रहेका कार्यकर्ताहरु मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका हुन्। ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल, जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसँग ओली र प्रचण्डको फोटो  थियाे । ब्यानरमा मार्क्स र लेनिनको नभएको भन्दै कार्यकर्ता आक्रोशित भएका हुन् । लेनिन जयन्तीमा आयोजित कार्यक्रममा लेनिनकै तस्बिर नहुनुमा आपत्ती जनाएका हुन् ।