प्रतिबन्धित भारतीय नोटसहित दुई प्रहरी नियन्त्रणमा

 प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय नोटसहित प्रहरीले काठमाडौंको होटल सांग्रिलाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले ४९ लाख भारतीय रुपैयाँसहित मोरङको कटहरी गाउँपालिका–३ का सुनिलदेव वैश्य र नुवाकोटको शिवपुरी गाउँपालिका–५ का चेतबहादुर नेपालीलाई नियन्त्रणमा लिएको हो । उनीहरु १ हजार दरका २ हजार २ सय ६ र ५ सय दरका ५ हजार ४ सय ५१ वटा नोटसहित पक्राउ परेका हुन् ।

सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम संकलन गरी काठमाडौं ल्याइएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ति नोट बरामद भएको हो । भारतमा प्रतिबन्धित नोट नेपालमा कुनै बेला साटिने आशाका साथ ल्याइएको हुन सक्ने प्रहरीको भनाइ छ ।

पछिल्लो समय भारतीय प्रहरीले पनि नेपाल पठाउन लागिएका प्रतिबन्धित ५ सय र १ हजार दरका नोट बरामद गरिरहेको छ । भारतीय प्रहरीले केही अघि कानपुरमा ९६ करोड र मिरिकमा २५ करोड प्रतिबन्धित भारतीय नोटसहित केहीलाई नियन्त्रणमा लिएको थियो । त्यो रकम नेपाल भित्र्याउने क्रममा बरामद गरिएको भारतीय सञ्चार माध्यमले जनाएका थिए ।