५ बुँदे घोषणा–पत्र जारी गर्दैे क्रान्तिकारी पत्रकार संगठन नेपाल, जाजरकोटको जिल्ला सम्मेलन सम्पन्न

तीर्थराज बोहराको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति चयन

क्रान्तिकारी पत्रकार संगठन नेपाल, जाजरकोटको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आईतवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न सम्मेलनले पाँच बुदे घोषणा–पत्र जारी गर्नुका साथै तिर्थराज बोहराको अध्यक्षतामा ५ सदस्य पछि थप गर्नेगरी १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

सम्मेलनले तिर्थराज बोहरालाई अध्यक्ष पदमा चयन गरेको छ भने, उपाध्यक्षमा निर्मला थापा, सचिव निर्मला शर्मा, सह–सचिवमा मिलन शाही, कोषाध्यक्ष टीका बिकलाई सम्मेलनले चयन गरेको छ । त्यसैगरी सम्मेलनवाट चयन भएका अन्य सदस्यहरुमा सरोज सिंह, युवराज बोहरा, बलराम सिंह, सरस्वती सिंह, देविका सिंह रहेका छन् ।

मिडियाको छाता कानुन निर्माणका नाममा सरकारले ल्याएको श्रमजीवी पत्रकार ऐन खारेज गर्ने विधेयकको ड्राफ्टको सम्मेलनले कडा बिरोध गर्नुका साथै श्रमजीवि पत्रकार ऐन पुर्णरुपमा कार्यन्वयन गर्न सम्मेलनले माग गरेको छ । मिडियालाई नागरिकको वास्तविक परिवर्तन र जनताको पक्षमा लगाउन सबै सरोकारवालाहरुसँग सम्मेलनले माग राखेको छ । सम्मेलनले विचार, आस्था, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चिता गर्न राज्यसँग अनुरोध गरेको छ । जनताको राजनीतिक अधिकारलाई सम्मान गर्न सम्मेलनले सरकारसँग अपिल गरेको छ । जिल्लाका प्राकृतिक सम्पदाहरुको संरक्षण, विकास, त्यसको उचित उपयोग गरी आम जनताको आर्थिक जीवनस्तर उकास्न, जिल्लाको चौतर्फी विकासका लागि पहल गर्न सरोकारवाला सबै पक्षसँग सम्मेलनले शुभेक्षा राखेको छ ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए । सत्तामा नरहदा र सत्तामा रहदा प्रधामन्त्री केपी शर्मा ओलीले फरक– फरक भाषा बोल्ने गरेको वताउदै अध्यक्ष चलाउनेले भने–‘हरेक नागरिकको राजनैतिक अधिकारको रक्षा गर्न सरकाले सकेको छैन ।’

सम्मेलन सफलताको लागि क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रिय सदस्य डिल्लीराज रावत, दीया चन्द, दीपबहादुर घर्ती, नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटका सेक्रेटरी केबी मल्ल, नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंह, प्रेस सेन्टर नेपाल, जाजरकोटका प्रतिनीधि सहदेव बस्नेत, क्रान्तिकारी पत्रकार संगठन, नेपाल सुर्खेतका अध्यक्ष नवराज न्यौपाने, नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय सदस्य सपना ओली, जिल्ला समन्वय समिति, जाजरकोटका संयोजक मनबहादुर रावल र कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाँया शाहीले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले लिखित शुभकामना पत्र पठाएका थिए ।

जारी गरिएको घोषणा–पत्रको पूर्ण पाठ ः–

२०७४ चैत २५ गते सम्पन्न क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला समिति जाजरकोटको दोस्रो जिल्ला सम्मेलनबाट पारित
घोषणा पत्र

१.श्रमजीवी पत्रकारहरुको हक, अधिकारलाई सुनिश्चित गर्न २०५१ सालमा जारी भएको श्रमजीवी पत्रकार ऐन २३ वर्ष बित्दा पनि पूर्ण रुपमा कार्यान्वयन भएको छैन । यसैबीच मिडियाको छाता कानुन निर्माणका नाममा श्रमजीवी पत्रकार ऐन खारेज गर्ने विधेयकको ड्राफ्ट ल्याइएको छ । यो सम्मेलन ऐन खारेज गर्ने त्यसखालको प्रयत्नप्रति कडा विरोध गर्दै, ऐन पूर्ण रुपमा कार्यान्वयनको माग गर्दछ ।

२. मिडिया कमजोर जनताको आवाज हो । साथै पत्रकारिताको वास्तविक सिद्धान्त समाज र मानव जीवनको परिवर्तन हो । यसविपरित विश्वव्यापी रुपमा मिडिया कर्पोरेट व्यापारिक घराना र आवाज हुनेहरुको मात्र आवाज बनेको छ । मिडियालाई नागरिकको वास्तविक परिवर्तन र जनताको पक्षमा लगाउन यो सम्मेलन सबै सरोकारवालाहरुसँग माग गर्दछ ।

३. विचार, आस्था, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चिता गर्न यो सम्मेलन राज्यसँग माग गर्दछ । साथै संविधानमा मौलिक अधिकारका रुपमा व्यवस्था गरिएका यी स्वतन्त्रताको हनन् गर्नेहरुमाथि यथाशिघ्र कारवाही गर्न सम्मेलन माग गर्दछ । विचार र आस्था राखेकै कारण, समाचार लेखेकै कारण पत्रकारहरुलाई गिरफ्तार गर्ने, आक्रमण गर्ने घटना बढिरहेका छन् । प्रेसको विशिष्ट विशेषतासहितको भूमिकाको सुनिश्चित गर्न, त्यसको सम्मान गर्न तथा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको सुनिश्चितता गर्न यो सम्मेलन सरकारसँग माग गर्दछ ।

४. राजतन्त्र समाप्त भई देशमा गणतन्त्रको घोषणा भइसक्दा पनि नागरिकका राजनीतिक अधिकारमाथि हस्तक्षेप गर्ने प्रयत्न अझै जारी छ । जनतालाई दास ठान्ने मनोबृति अझै पनि राज्यमा हावी छ । यो सम्मेलन जनताको राजनीतिक अधिकारलाई सम्मान गर्न सरकारसँग माग गर्दछ । नागरिक, नागरिकका आवाज र नागरिकका तहबाट उठ्ने हुने संघर्षलाई बलियो बनाउन सके मात्र राज्य जवाफदेही हुन्छ । त्यसैले जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने वातावरण बनाउन सम्पूर्ण मिडिया र मिडियाकर्मीहरुमा आह्वान गर्दछ ।

५.जाजरकोट जिल्लाका प्राकृतिक सम्पदाहरुको संरक्षण, विकास, त्यसको उचित उपयोग गर्न र त्यसको उपयोग गरी आम जनताको आर्थिक जीवनस्तर उकास्न यो सम्मेलन माग गर्दछ । साथै जाजरकोटको चौतर्फी विकासका लागि पहल गर्न सरोकारवाला सबै पक्षसँग माग गर्दछ ।