नेपालले भारतलाई दियो पुल बनाउन अनुमति
दार्चुला,नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँमा तीनओटा पुल लगाउन शुक्रबार नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिए ।
भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ को नजांग, लखनपुर र छाङकङरे खोलामा अस्थायी काठेपुल लगाउन नेपाल सरकारसँग अनुमति माग गरेको थियो ।
कैलाश मानसरोवर जाने तीर्थयात्री तथा सौका समुदायको हुने बसाइँ–सराइलाई मध्यनजर गर्दै केही समयका लागिमात्रै अनुमति दिएको प्रजिअ गौतमले जानकारी दिए ।
यसअघि, भारतीय पक्षले नेपालको सहमतिबिना नै ब्यास गाउँपालिका–२ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर–१ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठेपुल लगाएर भारतपट्टि निर्माण भइरहेको सडकमा काम गर्ने मजदुरलाई आवत–जावत गराइरहेको थियो भने नेपाली भूमिमा डेढ किमि कच्ची सडक र झन्डै दुई किमि बाटोसमेत निर्माण गरेको थियो ।