राज्यलाई कर नतिरेको भन्दै एनसेलका दर्जन बढी टावरमा अागजनी
नेपाल कम्युनिस्ट पार्टीले एनसेलका दर्जनभन्दा बढी टावरमा अागजनी गरेको छ । राज्यलाई बाँकी कर नतिरेको भन्दै नेकपाले विहीबार राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा अागजनी गरेको हो ।
अाफूसँग गरेको प्रतिवद्धताअनुसार कर नतिरेको भन्दै नेकपा कार्यकर्ताहरुले मध्यराति अागजनी गर्दा कपिलवस्तुको विजयनगर गाउँपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ । त्यस्तै रुपन्देहीको रुद्रपु, स्याङ्जाको विर्घामा,पाल्पाको माथगढी,गुल्मीमा रहेको टावर, बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोटलगायत मध्य नेपालका दर्जनभन्दा बढी टावरमा अागजनी गरिएको छ ।
मोवाइसेल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा अागजनी भएपछि त्यस क्षेत्रमा सेवा अवरुद्ध भएको छ । यसअघि फागुन १ गते जनयुद्धको अवसरमा पनि नेकपाले एनसेलका देशभरका पाँच दर्जन टावरमा अागजनी गरेको थियो ।
एनसेलले अझै राज्यलाई ३२ अर्बभन्दा बढी कर तिर्न बाँकी छ । एक वर्ष अगाडि पनि केही टावरमा अागजनी भएपछि एनसेलले सेवा र लाभकर सबै एक वर्षभित्र तिरिसक्ने प्रतिवद्धत जनाएको थियो । अाफ्नो पार्टीसँग गरेको प्रतिवद्धताअनुसार कर नतिरेको भन्दै नेकपा नेता कार्यकर्ताहरु अाक्रोसित भएका छन् ।