पूर्व‘प्लेब्वाइ’ मोडल म्याकडोगलले ट्रम्पसँगको रहस्य यसरी खोलिन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जति आफ्नो काम र निर्णयका लागि चर्चामा छन् उति नै उनको व्यक्तिगत जीवनले पनि सञ्चार जगत् तताइरहेको हुन्छ। यो पटक पनि उनी आफ्नो अफेयरका कारण चर्चामा आएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनएनसँगको अन्तर्वार्ताका क्रममा प्लेब्वाइ म्यागेजिनकी पूर्व मोडल करेन म्याकडोगलले आफू र ट्रम्प करिब १० महिनासम्म अफेयरमा रहेको खुलासा गरेकी छिन्। ‘एन्डरसन कुपर ३६०’ कार्यक्रममा निम्त्याइएकी म्याकडोगलले उक्त खुलासा गर्दै हरेक पटक ट्रम्पले आफूलाई पनि माया गर्ने गरेको बताएकी छिन्।

‘उनले मलाई हरेक पटक ‘म तिमीलाई माया गर्छु’ भन्थे,’ म्याकडोगलले भनिन्। यसका साथै ट्रम्पले आफूसँग बिहे गर्ने मनसाय बनाएको पनि हुन सक्ने उनले बताएकी छिन्। तर, ह्वाइट हाउसले ट्रम्पको त्यस प्रकारको सम्बन्ध वा अफेयर नरहेको स्पष्टीकरण दिएको छ।

यसअघि ‘न्युयोर्कर म्यागेजिन’ले फेब्रुअरीमा मात्रै पनि ट्रम्पको म्याकडोगलसँग अफेयर चलिरहेको र त्यही समयमा ट्रम्प अर्की एक पोर्न स्टारसँग पनि सम्बन्धमा रहेको समाचार प्रकाशित गरेको थियो। उक्त समाचार प्रकाशित गरेको नेसनल इन्क्वायरर ट्याबलोइडले ती पोर्न स्टारलाई करिब १ लाख ५० हजार अमेरिकी डलर तिरेको थियो।

‘अहिले सबैले यही विषयमा कुरा गरिरहेकाले म पनि यो विषयमा सार्वजनिक भएकी हुँ,’ म्याकडोगलले सिएनएनलाई भनिन्। म्याकडोगलको दाबीलाई मान्ने हो भने, सन् २००६ को जुनमा लस एन्जलसबाट सुरु भएको अफेयरको क्रममा उनीहरुबीच दर्जनौं पटक शारिरीक सम्पर्क भएको र त्यस क्रममा ट्रम्पले कुनै अस्थायी साधन प्रयोग गरेका थिएनन्।

‘ट्रम्पसँगको मेरो पहिलो भेट प्लेब्वाइ म्यानसनमा सेलिब्रेटी एप्रेन्टाइस टिभी सिरिजको छायांकनका क्रममा भएको थियो र त्यही बेलादेखि नै म उनीप्रति आकर्षित भएकी थिएँ, उनको व्यक्तित्व देखेर आकर्षित भएँ,’ म्याकडोगल भनिन्। पहिलो पटक आफ्नो र ट्रम्पको संसर्ग बेभर्ली हिल्स होटलमा भएको र त्यसपछिका क्रममा उनले आफूलाई पैसा दिने गरेको पनि म्याकडोगलले खुलाएकी छिन्।

‘शारिरीक सम्पर्कपछि उनले मलाई पैसा दिने कोसिस गर्थे, तर मलाई निकै असजिलो लाग्थ्यो। म उनलाई हेर्थें र जवाफ दिन्थें– म त्यस्तो केटी होइन,’ म्याकडोगलले भनेकी छिन्। म्याकडोगलले आफ्नो ट्रम्पसँगको पहिलो भेटका क्रममा प्लेब्वाइ म्यानसनमा मेलानिया (प्रथम अमेरिकी महिला) र इभान्का पनि त्यहाँ उपस्थित रहेको बताएकी छिन्।

ट्रम्प र आफूबीच क्यालिफोर्निया र न्यु जर्सीमा रहेको गल्फ कोर्समा पनि भेट हुने गरेको र न्युयोर्कमा रहेको ट्रम्प टावरमा पनि पछाडिको ढोकाबाट भित्र छिर्ने गरेको बताइन्। यसका अलवा आफूहरु क्यालिफोर्नियामा रहेको ताहोइ पोखरीमा रहेको रिर्सोटमा पनि समय बिताउनका लागि गएको उनले बताइन्। उक्त रिसोर्टमा ट्रम्पले स्ट्रोमी ड्यानियल्सलाई पनि अफेयर चलेको समयमा साथै लिएर गएको खबर सार्वजनिक भएको थियो।

ड्यानियल्सले मार्च ६ मा राष्ट्रपति ट्रम्प विरुद्ध उजुरी दायर गरेकी थिइन्। उनले उक्त उजुरीमा ट्रम्पले आफूलाई आफ्नो अन्तरंग सम्बन्धबारे केही नबोल्नलाई कुनै प्रकारको सम्झौता नगरेको दाबी गरेकी थिइन्। उक्त मुद्दा जितेकी ड्यानियल्सले १ लाख ३० हजार अमेरिकी डलर क्षतिपूर्ति बापत पाएकी थिइन्।

यता, म्याकडोगलले आफ्नो र ट्रम्पको सम्बन्ध २००७ को अप्रिलमा अन्त्य भएको बताएकी छिन्।अमेरिकी फर्स्ट लेडी मेलानियालाई केही भन्न चाहनुहुन्छ? भनी गरिएको प्रश्नमा उनले जवाफ दिइन्, ‘आई एम सरी, मैले आफूलाई यस्तो होस् भन्ने सोचेको र चाहेको पनि थिइनँ।’ मंगलबार मात्रै म्याकडोगलले ट्रम्पसँगको आफ्नो सम्बन्धबारे चुप लागेर बस्नुपर्ने वाध्यता विरुद्ध क्यालिफोर्नियामा मुद्दा दायर गरेकी छिन्।