सुरु भयो एसईई परिक्षा, चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी

आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईईमा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन्। एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रति केन्द्र एक केन्द्रामा , दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन्। साधारण धारतर्फको परीक्षा १७ गते सम्म र प्राविधिक धार तर्फको परीक्षा २० गते सम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ।

यो वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ। अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेड वृद्धि परीक्षमा समेत ग्रेड वृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ।

परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबारै केन्द्रमा पुगेर तयारी गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए। परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार अनुगमन टोलीलाई समेत दिइएको छ।