नेपाललाई नेदरल्यान्ड्‍सले दियो १९० रनको चुनौती

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सले नेपाललाई १९०रनको चुनौती दिएको छ । जिम्बाब्बेमा जारी एक दिवसीय विश्वकप छनोटको शनिबारको प्लेअफ अन्तरगत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याड्सले टस जितेर व्याटिङ रोजेको थियो ।

नेपालका लागि सर्वाधिक चार विकेट सोमपाल कामीले लिए भने सन्दीप लामिछाने, ललित राजवंशीले दुई–दुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए । पहिलो ओभरमै नेपालका लागि सोमपालले दुई विकेट लिँदा नेदरल्यान्ड्सका ब्याट्सम्यान सुरुमै दबाबमा परेका थिए ।

यद्यपी सुरुवाती ब्याट्सम्यान सस्तैमै समेटिए पनि पछिल्ला क्रमका ब्याट्सम्यानले टिकेर खेल्दा नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा पूरै ओभर खेल्दै नेपाललाई १९० रनको चुनौती दिएको हो ।

बिहीबारको खेलमा पयुवा न्यूगिनीलाई पराजित गरेको नेपालले एकदिवसीय टोलीको मान्यता पाउने पक्का भइसकेको छ । समूह चरणको खेलमा तीन खेलमा पराजि भइ एक खेलमा मात्रै जित हात पारेको नेपाल सुपर सिक्स मा पर्न नसकेका कारण विश्वकप छनोटबाट बाहिरिएको थियो ।