उपराष्ट्रपतिमा दोस्रो कार्यकालका लागि पनि नन्दबहादुर पुन निर्विरोध

काठमाडौं : उपराष्ट्रपति पदमा नन्दबहादुर पुन  निर्विरोध निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि शनिबार मनोनयन दर्ता गराएका पुन दोस्रो पटक उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका हुन् । चुनावी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले औपचारिक घोषणा गर्न भने बाँकी नै छ । संघीय गणतन्त्र नेपालको उपराष्ट्रपति पदका लागि बाहालवाला उपराष्ट्रपति पुनले शनिबार मध्यान्ह उम्मेदवारी दर्ता गराएका थिए ।

उपराष्ट्रपतिको उम्मेदवारीको प्रस्तावकमा सांसदहरु सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरुङ रहेका छन् । समर्थकमा देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार दिउँसो ४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध र उजुरीको समय छ । उपराष्ट्रपति पुनको एक्लो उम्मेदवारी परेकाले आयोगले पुनलाई आइतबार उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।

पुनको पक्षमा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले उम्मेदवारी नदिएको हो । यसअघि राष्ट्रपति पदमा कांग्रेसले कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनाएको थियो । उनलाई वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारीले भारी मत अन्तरले पराजित गरेकी थिइन् ।