सप्तरीका दुई गाउँपालिकामा तालाबन्दी

यी हुन कारण

राजविराज– सप्तरीका दुई गाउँपालिकामा शुक्रबार तालाबन्दी गरिएको छ। बलान–बिहुल र अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा तालाबन्दी भएको हो। बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले एकलौटी निर्णय गरेको आरोप लगाउँदै स्थानीयले कार्यालयमै तालाबन्दी गरेका हुन्। चैत १ मा आयोजित गाउँसभामा पनि गाउँबासीलाई बेवास्ता गरेपछि वाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरुले बताए।

अध्यक्ष गोइतले अघिल्लो दिन पदाधिकारीहरुको बैठकद्वारा निर्णय गरेर आफू अनुकूलका मान्छे बोलाई भोलिपल्टै गाउँसभा गर्न खोजेको माओवादी केन्द्रका स्थानीय नेता क्षत्रनारायण यादवले बताए। विकासका गतिविधि ठप्प रहेको गाउँपालिकामा वडा अध्यक्षहरुको समेत राय नलिई अध्यक्ष गोइतले मनपरी गर्न खोजेको यादवको आरोप छ। ‘गाउँमा सडक, बिजुली, शिक्षा, स्वास्थ लगायतका पूर्वाधार छैनन्,’ उनले भने, ‘विकासका काम भन्दा अध्यक्षको ध्यान चाहिँ अर्कैतिर देखिएको छ।’ गाउँपालिकाको केन्द्र तोक्ने विषयमा स्थानीयहरुले अवरोध गर्ने भयले अध्यक्ष गोइतले आफू अनुकूलको गाउँसभा गर्न लागेको उनले आरोप लगाए।

अध्यक्ष गोइतले भने कानुन विपरीतका कुनै कार्य नगरेको बताएका छन्। ‘गाउँसभा गर्ने विषयमा पनि सबैलाई खबर गरिएको छ,’ अध्यक्ष गोइतले भने, ‘केन्द्र तोक्ने विषयमा असहमति भएकाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन्। सबैको सहमतिबाट प्रक्रिया अघि बढ्छ।’ यसैगरी, अग्निसाइर कृष्णा सवरन गाउँपालिकामा कर्मचारी नियुक्तिमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी र प्रमुख प्रशासकीय अधिकृत राजिव कुमारले चलखेल गरेको आरोपमा असन्तुष्ट पक्षले तालाबन्दी गरेको छ।

अनमी र कार्यालय सहयोगी पदमा आफन्त र पैसावलालाई छनौट गरिएको असन्तुष्ट पक्षको आरोप छ। अनुभवी, दक्ष र योग्य व्यक्तिलाई पाखा लगाइएकाले परीक्षा बदर गरी पुनः परीक्षा लिनुपर्ने उनीहरुको माग छ। अध्यक्ष चौधरीले भने कर्मचारी नियुक्तिमा कुनै छलकपट नगरेको बताए। लोकतान्त्रिक विधि प्रक्रिया अनुसार नै कर्मचारी छनौट गरिएको उनले भनाइ छ।