वडाअध्यक्षमाथि लाग्यो कुखुरो चोरेको आरोप

कालिकोटः जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । गत फागुन ६ गते राति वडाअध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी खाएको आरोप लगाएका हुन् । वडाअध्यक्ष र सदस्यले कुखुरो चोरी गरेर खाएको भन्दै गाउँमा अहिले उनीहरुको राजीनामा मागिएको छ । स्थानीयले प्रेस विज्ञप्ती समेत निकालेर राजीनामा माग्दै गाउँका सार्वजनिकस्थलमा टाँसेका समेत छन् ।

स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरुले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

वडाध्यक्षले भनेः बेइज्जत गर्न खोजियो

तर, वडाअध्यक्ष दुर्गबहादुर केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएका छन् । उनले कुखुरो चोरी भयो भन्ने अर्जुन केसी, गणेश लुवार, वीर केसी र रामबहादुर केसी लगायतको टोलीले सँगै खाजा खाएको पनि स्वीकारेका छन् ।

केसीले सिपखानाका व्यवारीबाट अर्जुन केसीले किनेको ब्रोइलर कुखुरो छाडेर गएपछि गणेश लुवार र रामबहादुर केसीले पकाएर बोलाएपछि आफूहरुले मासु खाएको बताए । त्यहीकारण आफूहरुमाथि कुखुरो चोरीको आरोप लगाइएको उनले बताए ।

‘खाजा खाँदा उनीहरुले एकापसमा विवाद गरेका थिए’, उनले भने, ‘फरक पार्टीको भन्दै अन्य विवादका आफूलाई कुखुरो चोरीको आरोप लगाएका हुन् । मैले कसरी कुखुरो चोर्न सक्छु ?’

कुखुरो चोरी गरेर खाएको आरोपसहित स्थानीयले विज्ञप्ती नै निकालेको बारेमा आफुलाई थाहा नभएको उनले बताए । ‘कुखुरो चोरीको आरोप कसले लगायो थाहा भएन’, उनले भने, ‘अहिले म गाउँ जाँदैछु । बुझेर तपाईँलाई खबर गरौंला ।’

वडाअध्यक्ष केसीले कुखुरो चोरेर खाएको बिषयमा गाउँपालिकामा कुनै जानकारी नभएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । अन्नपुर्णामा खबर छ  ।