यी हुन् महरा !

काठमाडौं । शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निरन्तर लाभको पदमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा दस बर्षबीचमा तीन पटक उप–प्रधानमन्त्री र ६ पटक मन्त्री भए । एकपछि अर्को पदीय छलाङ मारिरहेका उनै महराले अव पाँच बर्ष प्रतिनिधिसभाको नेतृत्व गर्ने भएका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति दोहो¥याउने निर्णय गरेको वाम गठबन्धनले सभामुखमा भने नयाँ पात्र ल्याएको छ । माओवादीले आफ्नो भागमा परेको सभामुखमा ओनसरी घर्तीलाई निरन्तरता दिन पनि सक्थ्यो । तर, घर्तीसहित ५/६ जना आकांक्षीलाई पाखा लगाउँदै अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र र माओवादीभित्र ‘गच्छदार’ भनेर चिनिने रोल्पाका महरा नयाँ जिम्मेवारीका लागि अगाडि आएका छन् ।
२०१५ साल असार १५ गते रोल्पाको मेबाङमा जन्मिएका महरा पूर्व शिक्षक हुन् । पश्चिम नेपालमा महरा सरका रुपमा चिनिने उनी २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका हुन् ।

२०३७ सालमा तत्कालिन नेकपा चौथो महाधिवेशनको सदस्यता प्राप्त गरेका महरा विद्यार्थी, शिक्षकजस्ता बर्गीय संगठनको जिल्ला नेतृत्व हुँदै राजनीतिमा अगाडि बढेका पात्र हुन् । सक्रिय राजनीतिमा लागेको १६ वर्षपछि २०५२ सालमा भूमिगत भएका महरा तत्कालिन नेकपा माओवादीले २०६३ मा सरकारसँग वार्ता गर्न गठित टोलीको नेतृत्व गर्दै सार्वजनिक भएका थिए । त्यसयता महराले एकपछि अर्को गर्दै दलीय छलाङ मारिरहेका छन् ।

२०४८ सदस्य, प्रतिनिधिसभा (रोल्पा)
२०६३ सदस्य, अन्तरिम व्यवस्थापिका मन्त्री, सूचना तथा सञ्चार
२०६४ सदस्य, संविधानसभामन्त्री, सूचना तथा सञ्चार
२०६५ मन्त्री, सूचना तथा सञ्चार
२०६७ मन्त्री, गृह
२०६९ मन्त्री, उपप्रधान एवं सूचना तथा सञ्चार गृह
२०७० सदस्य, संविधानसभा
२०७३ मन्त्री, उपप्रधान एवं अर्थ
२०७३ मन्त्री, उपप्रधान एवं परराष्ट्र

२०७३ को अन्तरिम व्यवस्थापिकासहित पाँचौ पटक सांसद रहेका महराले पटक–पटक पार्टी प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । महरा पछिल्लो निर्वाचनमा दाङ–२ बाट निर्वाचित भएका हुन् ।

शालिन नेता मानिने महरा पचास करोडको ‘टेपकाण्ड’, टेलिकम कम्पनीको लाइसेन्स प्रकरण र विवादित व्यापारीसँगको धनिष्ठताका कारण विवादमा तानिएका थिए । माओवादीभित्र महरालाई बेइजिङ र दिल्लीलाई एकै पटक ‘डिल’ गर्न सक्ने नेता मानिन्छ । वाम गठबन्धनको दबदबा रहेको संसदमा महराले सत्तापक्ष र विपक्षलाई कसरी सन्तुलनमा राख्न सक्छन् त्यसले नै उनको नयाँ जिम्मेवारीको मूल्यांकन हुनेछ ।