ट्वाइलेटमा एलडिओलाई थुन्ने मन्त्री यादवले यसरी कर्मचारी थर्काउन थालेपछि सिंहदरवारमा त्रास

कुनै समय एक स्थानीय विकास अधिकारी (एलडिअाे)लार्इ ट्वाइलेटमा थुनेर चर्चामा अाएका मातृका प्रसाद यादव अहिले उद्याेग वाणिज्य तथा अापूर्ती मन्त्री बनेका छन् । यसपटक मन्त्रालयमा पहिलाे फाइलमा साइन गर्दादेखि नै चर्चामा अाएका उनी कर्मचारीहरुलार्इ कुनै पनि गल्ती नगर्न भन्दै थर्कामान पारेकाे चर्चा अझै चलिरहेकाे छ ।

यसैक्रममा उनले कुनै हालतमा पनि भ्रष्टाचार नसहने बताएका छन् । आफ्नो मन्त्रालय मातहतका कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए ‘अन् द स्पट’ कारबाही गर्ने उनले चेतावनी पनि उनले दिएका छन् । काभ्रे महोत्सव–२०७४ को बुधबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री यादवले भ्रष्टार गर्नेलाई नछाड्ने उल्लेख गरे ।

‘मेरो मन्त्रालय मातहत कोही पनि कर्मचारीले भ्रष्टाचार गरेको पाएमा ‘अन द स्पट’ कारबाही गर्छु’, यादवले भने । मन्त्री यादवले कर्मचारीलाई घूस नदिन सेवाग्राहीलाई आग्रह गर्दै यदि कसैले घूस खुवाएको थाहा पाएमा उसलाई पनि नछाड्ने चेतावनी दिए । तत्कालिन वनमन्त्री यादवले जिल्ला विकास समिति ललितपुरका स्थानीय विकास अधिकारीलाई मन्त्रालय बोलाएर शौचालयमा थुनेको घटनाको अहिले पनि कर्मचारी वृत्तमा चर्चा हुने गरेको छ ।

‘दीर्घकालीन विकास, सुसाशन र अग्रगमनको आधार आर्थिक समृद्धिको बहार’ भन्ने मूल नारा साथ आयोजना गरिएको महोत्सव आगामी ३ चैतसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा १ सय ५० भन्दा बढी स्टल राखिएको छ ।

२०३४ मा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गरेका मातृका यादव विसं २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थीले उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो ।

विस २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका सङ्गठन भूमिगत थियो । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे ।

उनी विद्यार्थीभन्दा पनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गीय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखिएको थियो । त्यहाँ उनले ठूलो सङ्घर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरू मातृका यादवमाथि आक्रमण गर्न गएका थिए ।

त्यतिबेला मातृका यादव लगायतले जेलको गेट कब्जामा लिएका थिए । विसं २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विसं २०४० मा देव गुरुङको नेतृत्वमा विद्यार्थी सङ्गठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आइपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रूपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यतिबेला मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसङ्ख्यकको माग थियो । त्यतिबेला मातृका क्षेत्रीय ब्युरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण सुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरि उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो । उनी रामवृक्ष यादव मास्टर साहेबलाई केन्द्रीय सदस्य बनाउनुपर्ने अडान राखे र आफू गएनन् ।

२०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौँ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई बेपत्ता पारियो ।

२०५८ मा फेरि उनी जेलमा परे । २०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरि दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे ।

उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजीनामा दिएर हिँडेका थिए ।

२०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद बने । सभासद भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजीनामा दिए । २०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर अघि बढे ।

एक्लै छुट्टै पार्टी बनाएर खास प्रगति नहुने देखेका यादव पुनः दुई वर्ष अगाडि माओवादी केन्द्रमा फर्के । माओवादी केन्द्रको तर्फबाट निर्वाचन लडेका यादव धनुषा १ बाट पहिलो पटक प्रतिनिधिसभा चुनाव जितेका हुन् । माओवादीको तर्फबाट मन्त्री बनेका यादव यो सँगै तेस्रो पटक मन्त्री भएका छन् ।