बाख्रा पालनमा कृषकहरुको बड्दो आकर्षण

रोल्पाका किसानहरुमा उन्नत जातका बाख्रा पालनप्रति आकर्षण बढ्न थालेको छ । विगतमा धेरै संख्यामा स–साना जातका बाख्रा पालन गर्ने गरिएकोमा पछिल्लो समय भने लामकाने जातका बाख्रा पालनप्रति किसानहरुको ध्यान जान थालेको हो । लामकाने बाख्रा हेर्दा पनि आकर्षक देखिने, तौल पनि बढी हुने र छिट्टै आम्दानी दिने भएपछि किसानहरु लामकाने बाख्राको पालनपोषणमा आकिर्षत बनेका हुन । आम्दानीको हिसाबले लामकाने अन्तरगत विभिन्न जातका बाख्रा पालन गर्दा फलदायी हुने रोल्पा रुन्टीगढी ६ डुव्रिङकी तिलकुमारी घर्तीले बताउनुभयो ।

लामकाने र स्थानीय जातका बाख्रालाई क्रस गराउँदा पनि जन्मने पाठापाठी छिटो हुर्कने, तौल बढी, मासु गुणस्तरीय हुने र राम्रो आम्दानी गर्न सकिने किसानहरुको अनुभव छ । लामकाने जातका बाख्रा पालन गर्दा पाठापाठी पनि राम्रो सप्रने र राम्रो मुल्यमा विक्रि हुने गरेको उहाँको भनाई छ ।

स्थानीय जातका बाख्रा धेरै समय सम्म पालेपनि तौल बढ्न नबढ्ने, दुख धेरै हुने भएपछि आफु लामकाने जातका उन्नत जातको बाख्रा पालनमा लागेको घर्तीले बताउनुभयो । लामकाने जातका बाख्रा पालन गरिएपछि जंगलको घाँस खासै बोक्न नपरेको उहाँ बताउनुहुन्छ ।

थोरै थोरै घाँस, अन्न र दानापानी दिएपनि बाख्राहरु हुर्कन सक्ने भएपछि जंगलको घाँस बोक्न केही सहज भएको उहाँको भनाई छ । साथै उहाँले पाल्नुभएको बाख्रा हेर्दा ठुलो, छिटो समयमै पाठापाठी दिने, गुनिलो आनीवानी भएकाले हेर्ने र त्यसका पाठापाठी लैजानेहरु आकर्षित बनेका छन ।।