यसरी बित्नेछ पाकिस्तानी प्रधानमन्त्री अब्बासीको १९ घण्टे नेपाल बसार्इ

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार अपराहन काठमाडौं उत्रँदै छन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउन लागेको बताए । ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिनेछन् भने त्यहीं नै दुईपक्षीय वार्ता गर्नेछन् । भेटमा दुई नेताबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने र यसबारे सबै तयारी पूरा भइसकेको समेत रिमालले जानकारी दिए । वार्तामा पूर्वप्रधानमन्त्री र राजनीतिक उच्च नेतालाई बोलाइएको छ । यसअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरिसकेको छ ।

विशेष विमानमा ३२ सदस्यीय टोलीसहित आउन लागेका अब्बासी नेपालमा १९ घण्टा रहनेछन् । पाकिस्तानी प्रधानमन्त्री आउने अघिल्लो दिनमात्र परराष्ट्र मन्त्रालयले भ्रमणबारे सार्वजनिक गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले पनि आइतबार नै विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नेछन् ।

अर्थपूर्ण भ्रमणः विज्ञ

अब्बासीको भ्रमणलाई कूटनीतिक जानकारहरूले भूराजनीतिक प्रभाव र नेपालको स्वतन्त्र निर्णयसँग जोडेर हेरेका छन् । पाकिस्तानले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्दहरू आफैंमा अर्थपूर्ण रहेको समेत उनीहरूको धारणा छ । पाकिस्तान अबको सार्क सम्मेलन आयोजक मुलुक भएकाले पनि यसलाई अघि बढाउन यो भ्रमण महत्त्वपूर्ण रहनुपर्ने उनीहरूले बताए ।

पूर्वराजदूत डा. दिनेश भट्टराईले यो भ्रमणलाई असाधारण रूपमा लिन नमिल्ने भन्दै यस्तो भ्रमणमा दुईपक्षीय हितका विषयमा छलफल हुनेमात्र नभई क्षेत्रीयस्तरमा सबैलाई स्पष्ट पार्ने काम हुने बताए ।  त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख डा. खडग केसीले नेपालबाट पहल नभए पनि पाकिस्तान आफैं बधाई दिन आएको बताए ।

‘यो भ्रमणका बारेमा स्पष्ट धारणा राख्न सक्ने अवस्था त छैन तर पनि रणनीतिक र राजनीतिक तवरमा मुलुकलाई फाइदा हुने अवस्था भने छैन,’ उनले भने, ‘तर पनि नेपालले आफूलाई स्वतन्त्र कित्तामा उभ्याउने मात्र होइन, सार्कका सबै सदस्य मुलुकप्रति उत्तिकै सद्भाव रहेको जानकारी दिएको छ ।’ पूर्वप्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका कूटनीतिक जानकार मिलन तुलाधरले यस्तो आश्चर्यजनक भ्रमण हुन आवश्यक रहेको बताए ।

टुँडिखेलमा ‘गार्ड अफ अनर’

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ । यसअघि त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिने गरिएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा यसलाई परिवर्तन गरिएको हो । ‘अहिलेलाई हामीले टुँडिखेललाई नै तय गरेका छौं । सम्भवतः अबका दिनमा त्यहीँ हुन्छ होला,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने ।

गार्ड अफ अनर दिँदा समकक्षी नै उपस्थित हुनुपर्ने र त्रिभुवन विमानस्थलमा दिइँदा लिन नै समकक्षी गएजस्तो हुने भएको भन्दै परिवर्तन गरिएको हो । अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने निर्णय सरकारले निर्णय गरेको छ, कान्तिपुरमा खबर छ ।