जिम्बावेसँग नेपाल पराजित

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावे ११६रनले विजयी भएको छ । जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनाएको हो । नेपालका लागि शरद भेषावकरले ४८ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन बनाएक हुन् । पारस खड्काले ३७ बलमा ८ चौकासहित ४० रन बनाए । उनी आज लिस्ट ए म्याचमा एक हजार रन बनाउनबाट मात्रै ९ रनले चुकेको छ ।

दिपेन्द्रसिंह ऐरीले २२, ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । रोहितकुमार पौडेलले ३२ बलमा ३० रन बनाए । त्यस्तै आरिफ शेखले ५९ बलमा ५ चौकासहित ५० रन बनाए । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३८१ रनको विजयी लक्ष्य दिएको थियो । यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो ।

पारस खड्काले ५ ओभर बलिङ गर्दै ५७ रन खर्चिए । पारसको बलिङमा जिम्बावेका ब्याट्सम्यानले ९ चौका र ३ छक्का प्रहार गरे । पारसको बलिङको इकोनोमी रेट ११.४० रह्यो । पारस खड्काले आफ्नो पहिलो ओभरमै १६ रन दिएका थिए । सोमपाल कामीले ८ ओभर बलिङ गर्दै ८२ रन दिए । उनले ४९ औँ ओभरको चौथो र पाँचौँ बलमा जिम्बावेका लागि विस्फोटक ब्याटिङ गरेका सिकन्दर राजा र ब्रेन्डन टेलरलाई आउट गरेका थिए ।

आजको खेलमा डेब्यू गरेका ललित राजवंशीले १० ओभर बलिङ गर्दै एक विकेट लिएर ६२ रन दिए । त्यस्तै वसन्त रेग्मीले १० ओभरमा एक ओभर मेडन राख्दै ६९ रन दिएर दुई विकेट लिए । सन्दीप लामिछानेले ९ ओभरमा एक मेडन राख्दै एक विकेट लिएर ६४ रन खर्चिए । नेपालका लागि शरद भेषावकरले ६ ओभर बलिङ गरे । उनले ६ ओभरमा मात्र ३२ रन दिए । त्यस्तै दुई ओभर बलिङ दिपेन्द्रसिंह ऐरीले ११ रन दिए । नेपालका लागि वसन्त रेग्मी तथा साेमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिएका हुन् ।