नवराज सिलवाल भन्छन् -म फरार छैन

काठमाडौं– एमाले सांसद नवराज सिलवालले आफू फरार अभियुक्त नभएको दाबी गरेका छन् । शनिबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा एमाले-माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठकमा सहभागी भएका सिलवालले ट्विटमार्फत यस्तो दाबी गरेका हुन्। तथ्यलाई बंग्याएर आफूविरुद्ध भ्रम फैलाएको सिलवालको आरोप छ।

‘नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र ऊ कुनै फरार व्यक्ति पनि होइन। तथ्यलाई बंग्याएर केही मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दु:ख व्यक्त गर्दछु,’ उनको ट्विटमा उल्लेख छ। आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।

सोही आदेशका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले फरार अभियुक्तका रुपमा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले सो प्रतिवेदन भने थन्क्याएर राखेको छ। आफूविरुद्ध शेरबहादुर देउवा सरकारले प्रतिशोधस्वरुप अनुसन्धान गर्दै आएको आरोप सिलवालले लगाउदै आएका छन्।