जिल्ला समन्वय समितिबाट रुण्टीगढीमा अनुगमन

जिल्ला समन्वय समिति रोल्पाले आज रुन्टीगढी गाउँपालिकामा अनुगमन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाका गाउँपालिकाहरुको अनुमगन गर्ने अभियान अनुसार आज रुन्टीगढी गाउँपालिकाको अनुगमन गरिएको हो । अनुमगनमा जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर बुढा, उपप्रमुख विमला बुढा लगाएतको टोली सहभागी भई गाउँपालिका अध्यक्ष, कर्मचारी र वडा अध्यक्षहरुलाई एकै ठाँउमा राखी समग्र गाउँपालिकाका गतिविधिका विषयमा जानकारी लिएको हो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर बुढाले रुन्टीगढी गाउँपालिकालाई अव आर्थिक स्रोत जुटाउन र जनतालाई सहज निश्पक्ष ढंगले सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष, वडा सदस्यहरुको समग्र गतिविधि सुनेपछि जवाफ दिदै प्रमुख बुढाले सहिद मार्गमा संचालनमा रहेका टिप्परहरुलाई बैकल्पीक मार्गबाट सञ्चालन गर्ने र रुन्टीगढी क्षेत्रको चुन ढुंगाको उचित निकासीका लागी सम्बन्धित निकायसंग पहल गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो ।

क्षमता भन्दा बढी लोड बोक्ने टिप्परका कारण सहिद मार्ग अन्तरगत घोराही होेलरी सडक खण्डमा स्तरउन्नती गरिएको सडक पनि विग्रिदै गएको भन्दै जनप्रतिनिधिहरुले सिमेन्ट उद्योगका टिप्पर संचालन गर्न बैकल्पीक सडकको लागी समन्वय हुनुपर्ने बताएका छन । उक्त कार्यक्रममा गाउँपालिका, वडापालिकाका जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारहरुको सहभागीता रहेको थियो । यस्तै उनीहरुले स्थानीय तह सन्चालनमा सहजता ल्याउन सर्वप्रथम शुसाशन र पुर्वाधारको विकास आवश्यक रहेको भन्दै त्यसमा क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिएका छन ।

सो अवसरमा रुन्टीगढी गाउँपालिका अन्तरगतका वडा अध्यक्षहरुले आफ्नो वडामा देखिएका समस्याहरु जिल्ला समन्यव समिति समक्ष राखेका थिए । उनीहरुले आफ्ना कार्यक्षेत्रमा भौगोलिक विकटता, भौतिक पुर्वाधार, कर्मचारी पदपुर्ती हुन नसक्नु जस्ता कारण स्थानीय तह सञ्चालनमा समस्या देखिएको बताएका थिए । आफ्नो वडाका समस्याबारे जानकारी गराउँदै रुन्टीगढी गाउँ कार्यपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष जगत वहादुर घर्तीले दाङ र रोल्पाको खुला सीमानाका कारण प्राकृतिक सम्पदाको चोरी पैठारी भईरहेकोले त्यसको निराकरणको लागी जिल्ला समन्वय समितिले पहल गर्नुपर्ने बताउनुभयो ।

६ नं वडामा खुलमखुला जडिवुटी, ढुंगा गिटटीको निकासी जस्ता काम भईरहेकाले आफ्नो वडाभित्रका प्राकृतिक सम्पदाको दुरुपयोग रोक्नका लागी दाङ र रोल्पाको सीमाना पर्ने सुंगुर खोलामा प्रहरी चौकी स्थापना आवश्यक रहेको रहेको बताउनुभयो । यस्तै जनप्रतिनिधीहरुले होेलरीमा राष्टिय बाणिज्य बैंकबाट आर्थिक कारोबार हुन नसेकाले सेवाग्राहीहरु समस्यामा परेको भन्दै दिर्घकालिन समाधानको बाटो पहिल्याउन आग्रह गरेका छन । हाल रुन्टीगढी गाउँपालिकाका वडाहरु सडक संजालले जोडिदै गएका छन । गाउँपालिका अध्यक्ष बालाराम बुढाले सबै वडा अध्यक्षहरुलाई निश्पक्ष ढंगले जनताको सेवामा लाग्न आग्रह गर्नुभयो ।।