सीमा क्षेत्रमा स्तम्भ निर्माण र मर्मत कार्य हुँदै

नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनः निर्माण र मर्मत गरिदै छ । दाङको भू-भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक छन् । ती मध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छ ।

नेपालले १४ मुख्य र २१ सहायक सीमा स्तम्भको निर्माण गरिसकेको छ भने बाँकी ४ मुख्य र १ सहायक सीमा स्तम्भ बनाउन बाँकी रहेको बताइएको छ । नेपाल र भारत सरकारको सहमतिअनुसार नेपालले विजोर र भारतले जोर संख्याका सीमा स्तम्भ मर्मत गरिरहेको छ ।

निर्माण तथा मर्मतको कामसँगै पेन्टिङ र नम्बरिङ भइरहेको सीमा सुरक्षा बल कोइलावासका सशस्त्र प्रहरीले जनाएको छ । लामो समयसम्म सीमास्तम्भको मर्मत नहुँदा सीमा क्षेत्र नै मेटिने अवस्थामा थियो ।

नेपालको तर्फबाट नापी विभागका चिफ सर्वे अफिसर बलराम पोख्रेल र भारतको तर्फबाट एसएसबिका अनुरागकुमार शर्माको टोली सीमा स्तम्भको पुनः निर्माण र मर्मतमा खटिएका छन् ।