चौधरी हिरासतमा,सिलवाल हात हल्लाउँदै सांसद भवनमा

सिलवाल संसद भवन प्रवेश गरिरहँदा अर्का सांसद रेशम चौधरी भने हिरासतमा रहेका छन् ।  प्रहरीकाे खाेजी सुचिमा रहेका पूर्व डीआइजी एवं सांसद नवराज सिलवाल अाज एक्कासी संसद भवनमा देखिएका हुन् । एमाले र माओवादीका सांसदहरुको संयुक्त वैठकमा भाग लिन उनी वानेश्वरस्थित संसद भवन पुगेका हुन् । गेटमा रहेका प्रहरीले उनलाई रोकेनन् । नक्कली कार्य सम्पादन मूल्याङ्कनमा सर्वोच्चको अदालतको फैसलापछि सोधपुछका लागि प्रहरीले पक्राउ पूर्जी काटेर उनलाई लामो समयदेखि खोजी गर्दै आइरहेको थियो ।

गत पुसमा ललितपुर प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो भने उनलाई भट्टेडाँडामा खोज्न प्रहरीको फौज नै पठाएको थियो । त्यसपछि उनीविरुद्ध डिफ्युजन नोटिस नै जारी गरिएको थियो । यति गर्दा पनि सिलवाललाई प्रहरीले भेटाउन सकिरहेको थिएन । त्यसबीचमा सिलवाल सामाजिक सञ्जालबाट आफ्ना भनाई राख्दै आएका थिए । प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि उनी बालुवाटर समेत पुगिसकेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्वडीआईजी सिलवालविरुद्ध सरकारी छाप दस्तखत किर्तेको मुद्धा चलाउन राय दिएको छ । सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ । यतिबेला उनको मुद्दा महान्यायीधिवक्तको कार्यालयमा थन्किएर बसेको छ ।

उता फागुन १४ गते जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार चौधरीलाई थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

टीकापुर घटनाको झण्डै ३० महिनापछि अदालतमा आफूविरुद्ध दायर गरिएको मुद्दाको प्रतिवाद गर्न निवेदनसहित अभियुक्त चौधरी अदालतमा हाजिर भएपछि दिनभरी बयान र बहस भएको थियो । टीकापुर घटनापछि फरार अभियुक्त चौधरी फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएर कैलाली निर्वाचन क्षेत्र नं १ बाट अत्यधिक मतका साथ विजयी भएका थिए।

चुनावमा विजयी भए पनि उनले विजयीको प्रमाण पत्र बुझ्न सकेका छैनन् । थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते भएको घटनामा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। रेशम त्यतिबेला थरुहट आन्दोलनको क्षेत्र नं १ का संयोजक थिए। उक्त घट्नापछि उनी फरार रहेका थिए।