कहाँ कसरी हुन्छ राष्ट्रपतिको निर्वाचन ?

काठमाडौं । फागुन २९ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि काठमाडौंको नयाँ बानेश्वरस्थितअन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिएको आजको राजधानी दैनिकले लेखेको छ।

संघीय संसद् भवनका रूपमा समेत प्रयोग गर्न लागिएको सो स्थानमा बिहीबार निर्वाचन आयोगले निर्वाचन कार्यालय खडा गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको बताए ।

आयोगले २१ फागुनदेखि सुरु हुने गरी निर्वाचन तालिकासमेत सार्वजनिक गरेको छ । २१ फागुनमा मतदाता नामावली प्रकाशन गरिनेछ । २३ फागुनमा उम्मेदवारी मनोनयपत्र दर्ता गरिनेछ भने २९ फागुनमा मतदान गरिनेछ । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशका सांसदले मतदान गर्नेछन् । सातवटा प्रदेशमा जम्मा ५ सय ५० प्रदेश सांसद छन् । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य पर्छन् । राष्ट्रिय सभा ५९ सदस्यीय र प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छन् ।

राष्ट्रपतिको निर्वाचनमा कूल मतदाता ८ सय ८४ जना हुनेछन् । संघीय संसद् भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रवक्ता ढकालले बताए । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।