हुम्ला सदरमुकाम सिमिकोटमा चलाउन हेलिकोप्टरबाट गाडी

गाडीको संख्या पाँच पुग्यो

राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । नयाँ पत्रिकामा खबर छ । 

रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । ‘सुर्खेतबाट सिमिकोटसम्म हेलिकोप्टरको भाडामा मात्रै १० लाख ५० हजार तिरेँ,’ उनले भने ।त्यस्तै अर्का व्यवसायी विजय लामाले पनि सेनाको हेलिकोप्टरबाटै बुधबार गाडी ल्याएका छन् । उनले पनि सुर्खेत विमानस्थलबाट हेलिकोप्टर चार्टर गरेरै सिमिकोटमा गाडी ओरालेका हुन् । यी दुईसँगै सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुगेको छ । यसअघि लोकजंग शाही र सरोज रावतका तीनवटा गाडी चल्थे ।

सिमिकोटमा ११ किलोमिटर सडक

हुम्ला सदरमुकाम सिमिकोटलाई कालिकोटबाट कर्र्णाली राजमार्ग र चीनको तिब्बतस्थित हिल्साबाट सीमा सडकले जोड्दै छ । उत्तरतिर हिल्साबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर सडक बनेको छ । ९५ किमि लामो यो सडकले सिमिकोट जोड्न अझै २४ किमि बाँकी छ।

सुर्खेतबाट सिमिकोटसम्म दुई सय ९० किलोमिटर कर्र्णाली राजमार्ग निर्माणाधीन छ । यसमा कालिकोटको लालुबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ, भने उता सिमिकोटबाट दक्षिणतिर खार्पुनाथसम्म ११ किमि सडक बनेको छ । त्यही सिमिकोट–खार्पुनाथ सडकमा गाडी चल्ने गरेका हुन् । यसमा तीन सय ५० रुपैयाँ भाडा लाग्छ ।

तीन महिना लाग्यो ढुवानी गर्न

सुर्खेत विमानस्थलबाट सिमिकोट विमानस्थल पुग्न एक घन्टा लाग्छ । तर, व्यवसायीहरूलाई सुर्खेतबाट सिमिकोटसम्म गाडी ढुवानी गर्न भने तीन महिना लागेको छ । ‘सुर्खेत विमानस्थलबाट सिमिकोट पुर्‍याउन तीन महिना लाग्यो,’ व्यवसायी चिना रावतले भने । उनको गाडी मंसिरमा नै सुर्खेत विमानस्थल पुगेको थियो । रावतले त्यतिवेलै हेलिकोप्टर चार्टरका लागि सेनालाई निवेदन दिएका थिए । सेनाको मुख्यालय हुँदै राष्ट्रपति कार्यालयबाट स्वीकृति पाउन तीन महिना लागेको उनले बताए ।

अर्का व्यवसायी बुदे बुढाको गाडी पनि सुर्खेत विमानस्थल पुगेको छ । उनले पनि हेलिकोप्टर चार्टरका लागि नेपाली सेनालाई निवेदन दिएका छन् । निवेदनसँगै ११ लाख ५० हजार भाडा पनि बुझाइसकेका छन् । उनले भने, ‘कहिले मिल्छ थाहा छैन, काठमाडौंबाटै हेलिकोप्टर आउने भएकाले एक लाख रुपैयाँ बढी तिरेको हुँ ।’