कर्णालीका सांसदहरुको दरिद्रता, महिना नपुग्दै एकएक लाख खल्तीमा

कर्णाली प्रदेशका सांसदहरुले एक महिना नपुग्दै एक एक लाख खल्तीमा हालेका छन् । संसद सुरु भएको महिना दिन पुगेको छैन, र पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी ऐन बन्न नपाउँदै सांसदहरुले पेश्की भन्दै एक एक लाख खल्तीमा हालेर होली मनाउन हिडेका छन् । सांसदहरुको मागअनुसार उक्त रकम प्रदेशसभा सचिवालयले उपलब्ध गराएको हो । सांसदहरुले भाकाभक पेश्की बुझिरहेका छन् । अहिलेसम्म ३० भन्दा बढी सांसदहरुले पेश्की रकम खल्तीमा हालिसकेका छन् भने केही लाइनमै छन् ।

सुर्खेतभन्दा बाहिरका सांसदहरुले बस्न गारो भएको भन्दै एक लाख खल्तीमा हालेर डेराको जोहो गर्न हिडको छन् । सुर्खेतमै घर भएका सांसदहरुले पनि एक एक लाख खल्तीमा बोकेर घरमा गएका छन् । प्रदेश बनेपछि केही आश गरेको जनता भने सांसदहरुको दरिद्रता देखेर निराश भएका छन् । राजिनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही पनि पेश्की बुझ्न अरुभन्दा अगाडि सचिवालयमा पुगेका छन् । राजिनामाको धम्की दिँदै आएका शाहीले संसदका बैठकमा समेत अनुपस्थित छन् तर पेश्की बुझेका छन् ।

अझ गजब त के भने आवास, यातायातको सुविधा पाएका मन्त्रीहरुले पनि पेश्की रकम बुझेका छन् । पेश्की वितरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मात्रै अनुसन्तु जनाएका छन् । उनले सभामुख राजबाहादुर शाहीसँग सुरुमै जनतामा नराम्रो छाप पर्ने भन्दै कँडेलले पेश्की रोक्न माग गरेका छन् तर उनको माग कसैले सुनेका छैनन् ।