देशभर हर्ष उल्लासका साथ होली पर्व मनाइदै,राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हर्षउल्लासपूर्वक होली पर्व मनाइदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ।

नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुहुँदै पर्वले नेपालीबीच धार्मिक सहिष्णुता स्थापना गर्नुका साथै भातृत्वलाई थप प्रगाढ बनाउने कामना समेत गर्नुभएको थियो ।