अन्ततः बाध्य भएर आत्मसमर्पण गरे टिकापुर घटनाका अभियुक्त चौधरीले

सकियो बयान पनि

लामो समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकिएको छ । चौधरीले जिल्ला अदालत सामु आत्मसमर्पण गरेपछि आज उनको जिल्ला अदालतमै बयान लिइएको हो । चौधरीको बयान सकिएपछि अब उनको मुद्दामाथिको बहस सुरु भएको कैलाली जिल्ला अदालतस्रोेतले जानकारी दिएको छ । आफूले गल्ती नगरेको दावी गर्दै कुनै हालतमा पनि आत्मसमर्पण नगर्ने अडानमा रहेका चौधरी उनका कानुनी सल्लाहकारहरुको सल्लाहका आधारमा अन्ततस् आत्मसमर्पण गरेको बताइएको छ । अदालतबाटै सफाइ पाउने पक्कापक्की भएपछि चौधरीले आत्मसमर्पण गरेको केहीले अनुमान पनि गरेका छन् ।

चौधरीले आज सोमवार जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलासमा बयान दिएका छन् । उनको बयान सकिएपछि बादी(प्रतिवादीका वकिलको बहस सुरु भएको छ । चौधरीको तर्फबाट मिलनकुमार राई, गंगा उपाध्यायसहित तीन वकिलले बहस गर्ने बताइएको छ ।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएर ठूलो मत अन्तरले विजयी पनि भएका थिए । फरार अवस्थामै वारेसमार्फत उम्मेदवारी दर्ता गराएका उनी निर्वाचन आयोगको प्रमाणपत्र भने लिन सकेका थिएनन । उनले उक्त प्रमाणपत्र वारेसमार्फत नै लिन खोजेका थिए । त्यसका लागि उनले अदालतमा निवेदन पनि दर्ता गराउन खोजेका थिए । तर, अदालतले अदालतमै मुद्दा परेका फरार अभियुक्तले त्यस्तो सुविधा नपाउने भन्दै मुद्दा दर्ता नै गरिएको थिएन । त्यसपछि पनि उनले विभिन्न शक्तिकेन्द्रमार्फत त्यो प्रमाणपत्र लिन खोजेका थिए । सबै प्रयासहरु असफल भएपछि उनी अन्ततस् आत्मसमर्पण गर्न बाध्य भएका हुन् ।

उनीमाथि कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका(चोरी मुद्दा लगाइएको छ । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा उनको प्रमुख भूमिका भएको भन्दै उनी विरुद्ध मुद्दा हालिएको थियो । उक्त घटनामा एक बालकको पनि ज्यान गएको थियो ।