तरकारी खेतीले आत्मनिर्भर बन्दै कृषक
रोल्पा रुन्टीगढी ७ गैराका कृषकहरु तरकारी खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउदै गएका छन । होलेरीबाट केही उत्तर पुर्वमा पर्ने त्यस गाउँका सर्वसाधारणले घरघरमा तरकारी फलाउने गरेका छन । प्रत्यकका घरमा टमाटर, काउली, साग, धनिया, आलु प्याज र लसुन लगाएतका तरकारी उत्पादन हुँदै आएकोमा कृषकहरुले तरकारी बेचेरै धेरै आम्दानी गर्ने गरेको बताउँछन ।
प्रत्येक सिजनमा फरक फरक तरकारी फलाउने त्यहाँका किसानहरुले घरघरमा पानीको पाईप लगेर सिचाई सुविधा समेत पुर्याएका छन । जुनसुकै समयमा पनि पाईपमार्फत बारीमा सिचाई गर्न सकिने भएपछि तरकारी लगाएत खाद्यान्न बाली पनि राम्रै उत्पादन हुँदै आएको स्थानीय बिमल बुढाको भनाई छ ।
गत साउनमा टमाटर फलाएर बेचेका बिमलले फेरी पनि टमाटरका बेर्ना जमाएर रोप्ने सुरसार गर्नुभएको छ । तरकारीको पकेट क्षेत्रको रुपमा समेत लिन सकिने गैरामा सिजन अनुसार विभिन्न तरकारी उत्पादन गरी बेच्दै आएका त्यहाँका सर्वसाधारणले त्यसैबाट आम्दानी गर्दै आएका छन ।
तरकारी खेतीलाई सजिलो र साझा पेशाको रुपमा अंगालेका त्यहाँका किसानहरुले विगत वर्षदेखि आलु, प्याज, लसुन जस्ता तरकारी उत्पादन गरी पैसा कमाउदै आईरहेका छन । खासगरी प्रत्येक बर्ष लसुन उत्पादन गरी विभिन्न बजारमा निर्यात गर्दै आएका त्यहाँका कृषकहरुको बारीमा अहिले हरियाली अवस्थामा लसुन देख्न सकिन्छ । शिक्षण पेशामा आवद्ध ममता थापाले विहान वेलुका तरकारी खेतीमा मेहनत गर्नुहुन्छ ।
उहाँले विहान बेलुकाको मेहनतले फलाएको लसुन वेचेर बार्षिक झण्डै ३० हजार भन्दा बढी आम्दानी गर्ने गरेको बताउनुभयो । त्यहाँका धेरै जसो महिलाहरु पनि तरकारी खेतीमा व्यस्त रहँदै आएका छन । जसले गर्दा आफुहरुलाई परनिर्भर बन्नु नपरेको र श्रीमानसंग हात थाप्न नपरेको उनीहरु बताउँछन ।।