प्रदेश नं ६ अब कर्णाली प्रदेश, सर्वसम्मतले नाम र राजधानी पारित

६ नम्बर प्रदेशले आफ्नो प्रदेशको नाम तय गरेको छ । आज शनिवार बसेको प्रदेश सभाको बैठकले ६ नम्बर प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावलार्इ एकमतले पारित गरेको हो । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशको नाम र राजधानीका बारेमा दुर्इ दुर्इ वटा प्रस्ताव गरिएका थिए । प्रदेशको नाम भेरी कर्णाली वा कर्णाली दुर्इ मध्ये एक राख्ने गरी यो प्रस्ताव गरिएको थियो । बैठकले प्रदेशको नाम कर्णाली राख्ने पारित गरेसँगै यो प्रदेश आफ्नो नाम आफै राख्नेमा पहिलो बनेको छ ।

त्यसैगरी बैठकले आज प्रदेशको स्थायी राजधानी पनि टुङ्गो लगाएको छ । बैठकमा स्थायी राजधानीका लागि जुम्ला वा सुर्खेत गरी दुर्इ ठाउँ प्रस्ताव गरिएकोमा सुर्खेत नै स्थायी राजधानी राख्ने प्रस्ताव पारित गरिएको छ । यसअघि पनि सरकारले सुर्खेतलार्इ अस्थायी केन्द्र तोकेको थियो । संविधानमा प्रदेशको नाम प्रदेश सभाले नै राख्ने व्यवस्था गरिए अनुसार प्रदेश सभाको बैठकले यो निर्णय गरेको हो ।

बैठक अघि कर्णाली क्षेत्रका सभासदहरुले जुम्लालार्इ प्रदेशको स्थायी राजधानी बनाउन निकै धेरै लविङ गरेका थिए । उनीहरुले कर्णाली पिछडिएको क्षेत्रको एक विम्व भएकोले यही आधारबाट यो क्षेत्रलार्इ माथि उठाउनु पर्ने उनीहरुको माग राख्दै आएका थिए । त्यसैगरी यो प्रदेशको नाम कर्णाली राखिएमा र राजधानी जुम्ला लगिएमा साँच्चिकै संघीयताको अर्थ झल्किने र अधिकार पिछडिएको क्षेत्रलार्इ दिएको ठहर्ने उनीहरुले दावी थियो । सो अनुसार प्रदेशको नाम कर्णाली रहे पनि राजधानी भने सबै हिसाबले पायक पर्ने भन्दै सुर्खेतमै राख्ने निर्णय बैठकले गरेको छ ।

गत बुधबार प्रदेशको बैठक निर्धारण गरिएको भए पनि धेरै संसदहरु बैठकमा उपस्थित नै नभएपछि बैठक स्थगित गरिएको थियो ।महत्वपूर्ण एजेण्डामा बस्न लागेको बैठकमा पनि सांसदहरु उपस्थित नभएपछि आलोचना भएको थियो । शनिबारको बैठकमा अनिवार्य उपस्थित हुन सबै राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका थिए । सोही अनुसार सबै सांसदहरु बैठकमा उपस्थित रहेका थिए । आजको निर्णयमा शतप्रतिशत समर्थन रहेको बताइएको छ ।