यसरी छाने प्रचण्डले मन्त्री, जनार्दन आउट शक्ति इन

नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा तीन नेतालाई दिएको थियो । शुक्रबार बसेको तीन सदस्यीय बैठकले पार्टीको भागमा परेका सातै जनाको नाम टुंग्याएको हो ।

औपचारिक रुपमा सार्वजनिक नगरिएपनि नेता थापाकै नेतृत्वमा माके सरकारमा जाने पक्का भएको छ । थापासहित बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मात्रिका यादव, बिना मगर र अमनलाल मोदीलाई मन्त्री बनाउने निर्णय माकेले गरेको छ ।

सातै प्रदेशको सन्तुलन मिलाएर मन्त्रीको नाम टुंग्याएको स्रोतले बतायो । उनीहरुको मन्त्रालयको भने टुंगो लागेको छैन । पार्टीको तर्फबाट थापाले नेतृत्व गरेपनि गृहमन्त्री भने पुन हुने बताइन्छ । उनले आफूले गृह नपाए सरकारमै नजाने बताउँदै आएका थिए ।

नेता जनार्दन शर्मा र अग्निप्रसाद सापकोटा पनि मन्त्रीको लिष्टमा भएको बताइएपनि अन्तिममा आएर उनीहरुको नाम काटिएको बताइएको छ । शर्मा यसअघिको देउवा सरकारमा गृहमन्त्री भएका थिए भने सापकोटा पटक पटक मन्त्री भएका व्यक्ति हुन् । उनी माओवादीमा सबै भन्दा मन्त्री हुनेमा पर्छन् । उनीहरुलाई प्रचण्डले आलोपालो सरकारको बेला आफू प्रधानमन्त्री भएको बेला मन्त्री बनाउने आश्वासन दिएको बताइएको छ ।

यसअघि माओवादी केन्द्रबाट पम्फा भुषाल, देव गुरुङ, टोप बहादुर रायमाझी, देवेन्द्र पौडेलहरुको नाम पनि मन्त्रीमा अगाडि आएको थियो । पम्फाले गृहमन्त्रीमै दावी गरेकी थिइन । तर, अन्तिममा पम्फासहित यी नेताको नाम काटियो । प्रदेशमा पनि किरणबाट भागेर प्रचण्डपछि लागेका बादल समूहका धेरै नेताहरु मन्त्री भएको र केन्द्रमा पनि तीन तीन जनाले सो समूहबाट मन्त्रीमा दावी गरेपछि पार्टीमा ठूलो असन्तुष्टि बढेको थियो । प्रचण्डमाथि धेरै ठूलो दवाव दिएर अन्तत पम्फा र गुरुङको नाम काटिएको बताइन्छ ।