शक्तिको आडमा धन्दा चम्काउने गुन्डाको शृंखलाबद्ध अवसान

शक्तिकाे अाडमा धन्दा चलाउने गुन्डाहरूकाे  श्रृंखलाबद्भ अवसान भएकाे छ । शक्तिको आडमा धन्दा चम्काउने उद्देश्यले नेतासँग नजिकिएका गुन्डाहरूको शृंखलाबद्ध अवसान भएकाे हाे ।  

चर्चित पछिल्ला ‘इन्काउन्टर’

– दिनेश अधिकारी ‘चरी’ :२०७१ साल साउन २१ गते काठमाडौंको भीमढुंगा (मृत्यु)
– कुमार श्रेष्ठ ‘घैंटे’ :२०७२ साल भदौ ३ गते काठमाडौंको सामाखुसी (मृत्यु)
– जसवन्त राई : २०७३ साल ९ गते काठमाडौंको बबरमहल (मृत्यु)
– प्रवीण खत्री :२०७४ साउन २३ गते ललितपुरको कुसुन्ती (मृत्यु)
– टीकाबहादुर मगर : २०७४ माघ १३ गते चितवनको रामनगर (बाँच्न सफल)
– मनोज पुन :२०७४ फागुन ९ गते रुपन्देहीको विजयपुर (मृत्यु)

एमाले नेता गौतम गृहमन्त्री भएकै वेला चरीको ‘इन्काउन्टर’

चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको पुष्टि भए पनि उनी पक्राउ परेनन् । शक्ति बढेको आत्मविश्वासमा चरीले पार्टीकै नेताहरूलाई समेत धम्क्याउन थालेका थिए । पछि एमालेकै नेता वामदेव गौतम गृहमन्त्री रहेका वेला २१ साउन ०७१ मा प्रहरीले उनलाई ‘इन्काउन्टर’मा मार्‍यो । प्रहरीका अनुसार मोटरसाइकल चढेर धादिङतर्फ जाँदै गरेको अवस्थामा भीमढुंगामा उनीसँग मुठभेड भएको थियो ।

राजनीतिक संरक्षणले घैँटेको व्यवसाय जोगियो, ज्यान जोगिएन

काठमाडौं नयाँ बजारका स्थानीय कुमार घैँटे कांग्रेसी नेताहरूको छत्रछायामा हुर्किएका डन थिए । निर्माण व्यवसायीका अनुसार कांग्रेसका जगदीश्वरनरसिंह केसीको परिवार र कुमार घैँटे व्यावसायिक साझेदार नै थिए । घैँटे तरुण दलमा प्रवेश गरेर समाजसेवी पनि बनेका थिए । तर, उनले अपराध कर्म छाडेनन् । राजनीतिक आवरणमा उनले अपराध गतिविधि अझ मजबुत तुल्याए । अन्ततः घैँटे सामाखुसीस्थित निवासमै भएको प्रहरी इन्काउन्टरमा ३ भदौ ०७३ मा मारिए । प्रहरीका अनुसार सर्चमा गएको टोलीलाई उनले फायर खोलेका थिए । फेक इन्काउन्टर भएको भन्दै जगदीश्वरनरसिंह केसीले शिक्षण अस्पताल र संसद्मा समेत उत्तेजक भाषण गरेका थिए । तर, घैँटेलाई बचाउन ढिलो भइसकेको थियो । यसरी, राजनीतिक संरक्षणको विश्वासमा अपराध बढाउनु घैँटेका लागि आत्मघाती साबित भयो ।

मनोज पुनको यात्रा : माओवादी हुँदै एमाले, सम्बन्ध बिग्रिएपछि समापन

रुपन्देही देवदह–६ का हुन् मनोज बुढामगर । बालुवाको कारोबार गर्ने क्रममा उनी माओवादीको भ्रातृ संस्था वाइसिएलसँग नजिकिए । व्यवसाय अझ बढाउन एमाले प्रवेश गरेका उनी एमालेसम्बद्ध युवा संघ रुपन्देहीको कोषाध्यक्षसमेत बने । एमाले नेता विष्णु पौडेलको नाम लिएर उनले अपराध कर्म अझ बढाए । युवा संघ रुपन्देहीले कारबाही गरेपछि प्रतिशोध साँध्न ४ पुस ०७३ मा गोली हानी आफ्नै पूर्वअध्यक्ष दुर्गा तिवारीको हत्या गरे । तर, प्रहरीको पहुँचबाट टाढा भारतमा बसेर गिरोह चलाउन थालेका उनले २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गराए । यसबाट पनि सुरक्षित उनले लगत्तै २१ पुस ०७४ मा बुटवल देवदहकै फर्निचर व्यवसायी बलु भनिने वसन्त पौडेलकोे हत्या गरे । अन्तर्राष्ट्रिय डन बन्ने महŒवाकांक्षामा अन्धाधुन्ध अघि बढेका उनी बुधबार प्रहरी इन्काउन्टरमा मारिएका छन् । साथमा उनका सहयोगी सोम आलेको पनि ज्यान गएको छ ।

जेलमै ग्याङफाइटमा मारिए अर्का डन

चितवन कारागारमा एमालेनिकट चमेरे ग्याङसँग झडप हुँदा कांग्रेसनिकट कमिला ग्याङका शिवराज पौडेल मारिए । राजनीति र अपराधमा सँगसँगै हुर्किएका पौडेल नेपाल तरुण दलका तत्कालीन जिल्ला अध्यक्षसमेत थिए । मुख्य धन्दा ठेक्कापट्टाको थियो, तर चितवन केराबारीमा मारिएका सञ्जय लामाको हत्या अभियोगमा जेलमा थिए । तर, अदालती पैmसला हुनुअघि नै २ पुस ०६८ मा उनी मारिए । उनको हत्याको विरोधमा कांग्रेस कार्यकर्ता सडकमा उत्रिए । नेपाल बन्दसमेत भयो । अन्ततः उनलाई कांग्रेसको बैठकले सहिद घोषणा नै गर्‍यो ।

बिहानै ३ बजे इन्काउन्टर : मनोजलाई १२ गोली, सोमलाई १०

शृंखलाबद्ध हत्या र फिरौतीको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके मनोज पुन इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा मनोजका मुख्य सहयोगी सोमबहादुर आलेको पनि ज्यान गएको छ ।

प्रहरीमाथि फायर भएपछि जवाफी कारबाहीमा मारिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) श्याम ज्ञवालीको भनाइ छ । मनोजलाई १२ र सोमलाई १० गोली लागेको थियो । देवदह नगरपालिका–४ भवानीपुरमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा घाइते पुन र आलेको उपचारका क्रममा साढे ५ बजे बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनास्थलबाट प्रहरी

घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल,एउटा मोटरसाइकल, ल्यापटप र केही डायरी पनि बरामद गरेको छ । मनोजले सुनीलकुमार मगरका नाममा नवलपरासीबाट पासपोर्ट (राहदानी) बनाएको र एटिएममा पनि अर्कै नाम राखेको पाइएको एसपी ज्ञवालीले बताए । भेटिएका प्रमाणमाथि अध्ययन गरेपछि थप तथ्य खुल्ने उनले बताए ।

इन्काउन्टरमाथि शंका

मनोजले हानेको गोली मोटरसाइकलमा, प्रहरीले हानेको गोली छातीमा पूर्वएआइजी राजेन्द्रबहादुर सिंह भन्छन्, ‘एकपछि अर्को इन्काउन्टरमा शंकै छ ।’

गोवामा पक्राउ नेपालमा गोली !

भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्, ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे ।’

यस्ताे छ प्रहरी एेनमा 

प्रहरी ऐन २०१२ को संशोधित व्यवस्था र निर्देशिकामा ‘इन्काउन्टर’को प्रावधान छैन । नेपालको विद्यमान ऐन÷ कानूनमा अभियक्तलाई कानूनी दायरामा ल्याएर अदालतको निर्णयअनुसार सजाय गर्ने व्यवस्था छ । प्रहरी ऐन २०१२ को दफा १३ ले प्रहरी कर्मचारीले कानूनले दिएको अख्तियारभन्दा बढी अधिकार प्रयोग गर्न नपाउने स्पष्ट व्याख्या गरेको छ ।

मुलुकी र फौजदारी ऐनजस्ता कुनै पनि कानूनमा ‘इन्काउन्टर’ प्रकृतिको प्रावधान छैन । तर, आफूमाथि आइलागेपछि प्रतिरक्षाका लागि भन्दै प्रहरीले ‘इन्काउन्टर’को अभ्यास भने गरिरहेको छ । बढ्दो प्रबृत्तिले ‘इन्काउन्टर’ कानूनी हो वा होइन भन्ने बहसलाई सतहमा ल्याएको छ ।