मध्यरातमा एमाले र माओवादी केन्द्रबीच यसरी जुट्यो सहमति

नयाँ पार्टी दर्ता गर्ने

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टीबीच एकता भएको छ । मध्यरात बालुवाटारमा सात बुँदे सहमति भएको छ । बालुवाटारमा बसेको पार्टी एकता संयोजन समिति बैठकले एकतालाई अनुमोदन गरेपछि सातबुँदे सहमितमा पत्रमा हस्ताक्षार भएको हो ।

प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको हो ।

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ ।

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । उक्त कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ । बैठक स्रोतका अनुसार दुबै कार्यदलले पाएको कार्यादेशअनुसार चाँडो प्रतिवेदन तयार पारेर नेतृत्वलाई बुझाउनु पर्नेछ ।

एमाले र माओवादीबीच सहमति भएका ७ बुँदे आधारपत्रमा पद बाँडफाँडका विषयमा केहि उल्लेख गरिएको छैन । यद्यपी एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्तामा महाधिवेशनसम्म दुबै जना अध्यक्षको भूमिकामा रहने र ओली प्रधानमन्त्री रहने भद्र सहमति भएको बताइएको छ ।

यस्ता छन् सहमतिका बुँदा

१. पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने ।

२. मार्गनिर्देश सिद्धान्त मार्क्सवाद –लेनिनवादलाई बनाउने ।

३.जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादलाई छलफल लैजाने ।

४. दल दर्ताका लागि भोलि नै निर्वाचन आयोगमा जाने नेताहरुले बताएका छन् ।

५. केपी ओली र अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने ।

६. नयाँ विधान बनाएर एकीकृत पार्टी संचालान गर्ने ।

७. अागामी महाधिवेशन एकताको महाधिवेशनको रुपमा भव्य रुपमा सम्पन्‍न गर्ने ।

सहमति पत्र