माओवादीको चित्त दुखाइ कहाँ ?

आफूहरूसँग भएका सहमति एमालेले कार्यान्वयन नगरेकोप्रति माओवादीको असन्तुष्टि देखिन्छ । माओवादी नेताका अनुसार एमाले भएका सहमतिविपरीत गएकाले सरकारमा मन्त्री नपठाइएको हो । ओली र प्रचण्डबीचको छलफलमा सरकार सञ्चालन, पार्टीका नेताहरूको व्यवस्थापनदेखि पार्टीको वैचारिक, सांगठनिक एकताको हल कसरी गर्ने भन्नेबारे बृहत छलफल भई पटकपटक समझदारी बनेको दावी माओवादी नेताहरूको छ ।

अहिले ओली प्रधानमन्त्री र सेरेमोनियल अध्यक्ष तथा प्रचण्ड कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने, ओलीले साढे दुई वर्ष सरकार सञ्चालन गरेपछि प्रचण्डलाई सरकार हस्तान्तरण गर्ने जस्ता विषयमा समझदारी बनिसकेको माओवादी नेताको दावी छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

तर, एमाले महासचिव ईश्वर पोखरेलका कुरा भिन्न छन् । एउटै पार्टीमा बहु केन्द्र राख्न नहुनेदेखि पार्टी एकतापछि सरकार सञ्चालनमा आलोपालो भन्ने विषय नै नरहने उनको भनाइ रहँदै आएको छ । पछिल्लो समय त जबजप्रतिको अडानले पार्टी एकताको निर्णायक भनिएका वार्ता नै छायाँमा पारिदिएको छ ।